
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आठौं त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।नेदरल्यान्ड्सको युट्रेच्टस्थित स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६:५ ओभरमै अलआउट हुँदै १५७ रनमा सीमित भयो । त्यसपछि १५८ रनको लक्ष्य पछ्याएको नामिबियाले ३७:४ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
नामिबियाको जितमा यान जेन फ्राइलिन्कले ७७ रनको उत्कृष्ट इनिङ्स खेले । ओपनर माइकल भान लिंगेनले ५१ रन जोड्दै अर्धशतक पूरा गर्दा निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे । नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १/१ विकेट लिए।
यसअघि नेपालको ब्याटिङमा कप्तान रोहित पौडेलले ३१ रन बनाउँदै सर्वाधिक योगदान दिए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे । गुल्सन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन बनाए।
नामिबियाका योहानस जोनाथन स्मिथले एक्लैले ६ तथा ज्याक ब्रासेल र बर्नाड शोल्ट्जले समान २/३ विकेट लिए । अब नेपालले शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेल बिहीबार घरेलु टोली नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ।








