२०८३ साउन १२ , मंगलबार

स्वास्थ्य बिमा सेवा पुन सञ्चालनमा



दैलेख । दैलेख जिल्ला अस्पतालले मंगलबार देखि स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गरेकोे छ । अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही समयदेखि रोकिएका सम्पूर्ण स्वास्थ्य सेवाहरू पुनः सञ्चालनमा ल्याएको हो।
करिब १महिना यतादेखि अवरुद्ध रहेको बिमा सेवा स्वास्थ्य बिमा बोर्डले बक्यौता रकम भुक्तानी गर्न सहमति भएपछि पुनः सञ्चालन गर्न लागिएको हो ।अस्पतालमा स्वास्थ्य बिमा बोर्डबाट उपचारबापतको करिब१करोड रुपियाँ दाबी भुक्तानी नपाएपछि गत १महिना स्वास्थ्य बिमा अन्तर्गतका सेवा स्थगित गरेको थियो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको परिमार्जित सुविधा प्याकेज लागू भएसँगै स्वास्थ्य बीमा अन्तर्गतका सबै सेवाहरू पुनः सुचारु गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले बताउनुभयो। उहाँले स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने बीमा दाबी रकम समयमै भुक्तानी नहुनु तथा सेवा प्रदान गर्दा लाग्ने वास्तविक लागतको तुलनामा सुविधा प्याकेजको दररेट न्यून रहेकाले अस्पताललाई सेवा सञ्चालनमा समस्या भएको बताउनुभयो। उहाँले केही समयका लागि स्वास्थ्य बीमा अन्तर्गतका सेवाहरू स्थगित गर्नुपरेको बताउनुभयो।
उहाँले स्वास्थ्य बीमा बोर्डले असार २० गते जारी गरेको पत्रमार्फत परिमार्जित नयाँ सुविधा प्याकेज लागू गरेपछि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण सेवाहरू पुनः सञ्चालनमा ल्याएको बताउनुभयो।
कार्यालय स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवाग्राहीहरूलाई निर्धक्क भएर अस्पतालबाट सेवा लिन आग्रह गरेको छ। यस्तै अस्पताल फार्मेसीबाट स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधि एक पटकमा बढीमा एक महिनाका लागि मात्र वितरण गरिने जानकारी पनि दिएको छ ।
अस्पताल प्रशासनले स्वास्थ्य बीमा अन्तर्गत सेवा लिन आउने सेवाग्राहीहरूलाई तोकिएको प्रक्रिया पूरा गरी सेवा लिन अनुरोध गरेको छ। अस्पतालले सार्वजनिक गरेको कार्यतालिका अनुसार स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी टिकट बिहान ९ देखि २ बजेसम्म तथा बिहाने ९ देखि ५ बजेसम्म उपचार तथा औषधी वितरण गरिने छ । नयाँ व्यवस्थाले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार
प्रतिक्रिया