
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा र छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार मृत्यु हुनेमा २७ वर्षीया कमला कुमारी खत्री रावल र उहाँका ९ वर्षीय छोरा आयुस रावल रहेका छन्।
प्रहरीका अनुसार साउन ३ गते राति करिब ३ बजे कमला घरको बर्दलीमा तथा छोरा आयुस घरभित्रको कोठामा सुतिरहेका बेला सर्पले टोकेको अनुमान गरिएको छ। राति कुनै गम्भीर लक्षण नदेखिए पनि बिहान दुवै जनालाई रिंगटा लागेपछि उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर रावलका अनुसार उपचारका लागि लैजाने क्रममा साउन ४ गते बिहान आयुसको मृत्यु भएको थियो।
कमलालाई स्थानीय मेडिकलले थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो। प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा साउन ६ गते बिहान उहाँको निधन भएको वडाध्यक्ष रावलले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। श्रीमान्, श्रीमती तथा छोराछोरी एउटै घरमा सुतिरहेको अवस्थामा बर्दलीमा रहेकी कमला र कोठाभित्र रहेका आयुसलाई सर्पले टोकेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।








