२०८३ साउन १२ , मंगलबार

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण



 

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वर्षाका कारण सडक अवरुद्ध हुने, यात्रा जोखिमपूर्ण बन्ने तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य लाभग्राहीलाई आवतजावतमा कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यो व्यवस्था लागू गरेको हो।
र्षायाममा सेवाग्राहीलाई पालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटाउँदै सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडाबाटै वितरण गर्ने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले बताउनुभयो । उहाँले साउन ६ गतेदेखि १६गतेसम्म गाउँपालिकाका सबै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिनुभयो। उहाँले भत्ता लिनका लागि अब सेवाग्राहीले पालिका केन्द्रसम्म धाउनुपर्ने अत्य भएको बताउनुभयो।
अध्यक्ष बिसीले वर्षायाममा लामो दूरीको यात्रा गर्दा सेवाग्राहीले अनावश्यक सास्ती र जोखिम बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिकाले नागरिकमैत्री निर्णय गरेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले वडा–वडामै वितरणको व्यवस्था गरिएको उल्लेख गर्नुभयो।
गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक तयारी पूरा गरिएको छ। लाभग्राहीलाई आफ्नो परिचय खुल्ने आवश्यक कागजातसहित तोकिएको मिति र समयमा वडा कार्यालयमा उपस्थित भई भत्ता बुझ्न अनुरोध गरिएको छ।
गाउँपालिकाले वर्षायामका कारण सेवाग्राहीलाई अनावश्यक दुःख नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ। यसबाट समय, खर्च र श्रमको बचत हुनुका साथै स्थानीय नागरिकले आफ्नै वडामा सहज, सुरक्षित र छिटो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। गाँउपालिकाले प्रत्येक वडामा तोकिएको मिति र समयअनुसार उपस्थित भई आफ्नै वडाबाट सहज रूपमा भत्ता प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।
गाँउपालिका भित्रका करिब२हजार जनाले लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । वृद्धवृद्धाहरुलाई वर्षौदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न नै पालिका सम्म पुगन समस्या हुँदै आएको अवस्थामा स्थानीय सरकारले वडामै पुगेर भत्ता दिन थालेका छन् । गाउँ घरबाटै भत्ता पाउन थालेपछि जेष्ठ नागरिक उत्साहित भएका छन् ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार
प्रतिक्रिया