२०८३ साउन १२ , मंगलबार

पहिलो पटक लोकसेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन



 

 

 


दैलेख, साउन ८ गते।दैलेख सदरमुकाम नारायण नगरपालिका–१ मा पहिलो पटक लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालनमा आएको छ।
स्थानीयस्तरमै गुणस्तरीय तयारी कक्षा उपलब्ध गराई परीक्षार्थीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले स्मार्ट इन्स्टिट्युटले तयारी कक्षा सञ्चालन गरेको जनाएको छ।
इन्स्टिट्युटका सञ्चालक हिक्मत बुढाले लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारीका लागि काठमाडौं वा अन्य सहर जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित कक्षा सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार अब परीक्षार्थीले आफ्नै जिल्लामा बसेर कम खर्चमा अनुभवी प्रशिक्षकबाट प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न सक्नेछन्।
इन्स्टिट्युटमा सङ्घीय निजामती सेवाअन्तर्गत नायब सुब्बा र खरिदार पदका लागि तयारी कक्षा सञ्चालन गरिनेछ।
जिल्लामै पहिलो पटक सञ्चालनमा आएको तयारी कक्षाले विशेषगरी ग्रामीण क्षेत्रका तथा आर्थिक रूपमा कमजोर परीक्षार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा सहज हुने विश्वास इन्स्टिट्युटले व्यक्त गरेको छ। नियमित नमुना परीक्षा, डिजिटल अध्ययन सामग्री तथा परीक्षा केन्द्रित अभ्यास कक्षाको समेत व्यवस्था गरिएको जनाइएको छ।
यसैबीच, इच्छुक विद्यार्थी तथा परीक्षार्थीका लागि साउन ११ गते सोमबार साँझ ५ बजे निःशुल्क अभिमुखीकरण (ओरिएन्टेसन) कार्यक्रम आयोजना गरिने इन्स्टिट्युटले जनाएको छ। कार्यक्रममा लोकसेवा आयोग र शिक्षक सेवा आयोगका परीक्षा प्रणाली, पाठ्यक्रम, अध्ययन रणनीति तथा तयारी विधिबारे जानकारी दिइनेछ। सोही दिनदेखि नियमित तयारी कक्षा पनि औपचारिक रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार
प्रतिक्रिया