
दैलेख । दैलेखमा युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालाबीच समन्वयात्मक छलफल गरिएको छ।ग्रामीणमुखी युवा अभियान नेपाल ९आरवाइएम–नेपाल० को आयोजना, युवा मानवअधिकार रक्षक सञ्जालको समन्वय तथा एईएसएनको आर्थिक सहयोगमा युवा मानव अधिकार रक्षक अधिकार संरक्षकका सवालमा समन्वयात्मक कार्यक्रम गरिएको हो ।
छलफलमा मानवअधिकारको प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार तथा युवाबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको थियो।
आरवाइएम–नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले युवा मानवअधिकार रक्षकको भूमिका, चुनौती, सुरक्षा तथा क्षमता विकासका विषयमा प्रस्तुति दिनुभएको थियो।
सहभागीहरूले डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य, अनलाइन ठगी, बालविवाह, घरेलु हिंसा, लागूऔषध दुर्व्यसन तथा वैदेशिक रोजगारीसँग सम्बन्धित समस्यामा युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले युवा सञ्जाललाई पालिका तहसम्म सशक्त बनाउँदै मानवअधिकार संरक्षणका अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन संस्थागत सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
छलफलले युवा मानवअधिकार रक्षक सञ्जाल र नागरिक समाज संगठनबीच नियमित समन्वय, दिगो नेटवर्क निर्माण, डिजिटल माध्यमको प्रभावकारी उपयोग तथा साझा कार्ययोजना कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ। कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, नेपाल बार एसोसिएसन, पत्रकार ,उद्योग वाणिज्य संघ, नागरिक समाज, मानवअधिकारकर्मी र युवा प्रतिनिधिको सहभागिता रहेको थियो।








