
दैलेख, साउन ९गते । दैलेखका तीन विद्यालयका विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
नेपाल प्रहरी श्रीमती सङ्घ केन्द्रीय कार्यसमिति र नेपाल एसबिआई बैंकको सहयोगमा नारायण नगरपालिका र दुल्लु नगरपालिकाका तीन विद्यालयका विद्यार्थीलाई कापी, कलम, पेन्सिल, इरेजरलगायत सामग्री वितरण गरिएको हो।
सामग्री बालमन्दिर प्राथमिक विद्यालय नयाँबजार, ईश्वरी प्राथमिक विद्यालय नारायण–९ र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दुल्लुका विद्यार्थीलाई प्रदान गरिएको हो।
बालमन्दिर प्राथमिक विद्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी केन्द्रीय अध्यक्ष नविना खत्री कार्कीले सबै बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले यसबाट विद्यार्थीको अध्ययनप्रतिको उत्साह बढ्नुका साथै सकारात्मक मार्गतर्फ प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले विद्यालयमा अध्ययनरत दलित, अल्पसंख्यक, सिमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा नेपाल प्रहरी श्रीमती सङ्घप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोग सराहनीय रहेको बताउनुभयो। यस्ता कार्यक्रमले समुदायस्तरमा बालबालिकाका आवश्यकता पहिचान गर्न र शैक्षिक सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सामकोटा तथा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो।








