
काठमाडौं, साउन ९ गते। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले संयुक्त सरकार गठनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।
सहमतिपत्रमा बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनमा देखिएको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
दुवै दलले प्रदेश सरकारहरूलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउँदै साझा कार्यक्रमका आधारमा सहकार्य अघि बढाउने सहमति गरेका छन्।








