२०८३ साउन १२ , मंगलबार

कर्णालीमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु



 

सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले साउन १२ गते मङ्गलबार साँझ ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दाबी आह्वान गर्नुभएको प्रदेश प्रमुखका सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो।

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिनुभएको थियो। उहाँको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसक्नुभएको छ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कँडेलले राजीनामा दिनुभएको हो।

कँडेल २०८० चैत २७ गते एमाले–माओवादी गठबन्धनको समर्थनमा पहिलो पटक मुख्यमन्त्री बन्नुभएको थियो। त्यसपछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा पुनः सरकार गठन गर्दै २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमबार
प्रतिक्रिया