२०८३ साउन १२ , मंगलबार

विदेशको दुःखबाट स्वदेशमै सफलताको यात्रा ःएक महिनामै खुवाबाट १ लाख बढी आम्दानी



 


यामराज बिष्ट
दैलेख।पछिल्लो समय रोजगारीको अवसर नपाएको भन्दै युवायुवती विदेशिने क्रम तीव्र रुपमा बढी रहेको छ । जिल्लाका केही युवाले भने खुवा कुराउनी उत्पादन र बिक्री व्यवसायले गरेर स्वरोजगारको बाटो अँगालेका छन् । विदेशमा सिकेको सीप प्रयोग गरी उनीहरुले आफ्नै स्वदेशमै राम्रो आम्दानी गरिहेका छन् ।
केही समय पहिला वैदेशिक रोजगारीबाट फर्किएका दैलेखको आठबिस नगरपालिक –१ सातलाका नरेन्द्र रावतले खुवा (कुराउनी) उत्पादन र बिक्री व्यवसायले स्वदेशमै मनग्य आम्दानी गर्दै आउनु भएको छ । दैलेखको गुराँस गाउँपालिका स्थित–गुराँसेमा होटल ब्यवसाय गर्दै आउनुभएका रावतले पछिल्लो समय शुद्ध खुवा उत्पादन व्यवसाय सञ्चालन गरी एक महिनामै करिब १ लाख २५ हजार आम्दानी गर्नुभएको छ।
गुराँसे स्थित न्यू आठबिस विवेक रावत होटल सञ्चालन गर्दै आउनुभएका रावतले होटलसँगै स्थानीय किसानबाट सङ्कलन गरिएको शुद्ध दूध प्रशोधन गरी खुवा उत्पादन गर्दै आउनुभएको हो। करिब तीन वर्ष कतारमा रोजगारी गर्नुभएका रावतले विदेशमा दिनको१०घण्टाभन्दा बढी श्रम गर्नुपरे पनि अहिले आफ्नै गाउँमा उद्यम गर्दा आत्मसन्तुष्टि सँगै भनेजस्तो आम्दानी भइरहेको बताउनुभयो। उहाँले गुराँसे पर्यटकीय क्षेत्र खुवाको प्रचार हुँदै जाँदा अहिले प्रदेश राजधानी सुर्खेत लगायत अन्य जिल्लाबाट मानिसहरुको आवतजावत भएकाले खुवा बिक्री बढेको बताउनुभयो ।
“विदेशमा दुःख गरेर कमाएको अनुभवलाई आफ्नै गाउँमा प्रयोग गर्दा राम्रो परिणाम आएको छ,” रावतले भन्नुभयो, “ दिनप्रतिदिन युवाहरू विदेशिनुभन्दा आफ्नै ठाउँमा सम्भावना खोजेर केही गर्नका लागी उद्यम गरे सफल हुन सकिन्छ।”
रावतले दैनिक करिब ६५देखि७०लिटर दूध खरिद गरेर गरी७ देखि ८ किलो ग्राम सम्म खुवा उत्पादन गर्दै आउनुभएको बताउनुभयो। सडक विस्तार र बजार पहुँच सहज बन्दै गएपछि बाहिर जिल्ला देखि जिल्लामा आउनुहरुको मासिसको संख्या बढेपछि खुवाको माग बढ्दै गएको र व्यवसाय विस्तार गर्ने तयारीमा रहेको उहाँको भनाइ छ।उहाँका अनुसार विगत आठ महिनादेखि सञ्चालनमा रहेको खुवा व्यवसायमा स्थानीय किसानबाट दूध खरिद गरिएकाले किसानले पनि नियमित बजार पाएका छन्। जिल्लामै शुद्ध तथा गुणस्तरीय खुवाको माग बढ्दै गएकाले उत्पादन थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।
स्थानीय स्रोत–साधनको उपयोग गर्दै सुरु गरिएको रावतको उद्यम वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ।उहाँले खुवा घोटेर परिवार पालन पोषणसँगै यही पेशाबाट कमाएको रकमले आफना एक छोरा र एक छोरीलाई अध्यापन गर्न सफल हुनुभएको छ ।यस्तै होटल व्यवसाय बाट मसिक करिब२५ हजार कमाउदै आउनु भएको छ । उहाँले एक जना कर्मचारीलाई मासिक२०हजार तलब दिएर रोजगारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
प्रतिक्रिया