
यामराज बिष्ट
दैलेख।पछिल्लो समय दैलेख जिल्लामा घरमै राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ।जिल्ला हुलाक कार्यालय मार्फत सञ्चालन गरिएको घरमै राहदानी वितरण सेवा’अन्तर्गत जिल्लाका ११वटा स्थानिय तहका सेवाग्राहीहरूको घर–घरमा पुगेर राहदानी वितरण गरेपछि सेवा प्रभावकारी बन्दै गएकोे हो।
जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला हुलाक कार्यालय मार्फत सञ्चालन गरेको उक्त सेवाबाट हालसम्म १सय१ जना सेवाग्राही लाभान्वित भएको विवरण सङ्कलन सुरु गरिएको जिल्ला हुलाक कार्यालय दैलेखले जनाएको छ । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी सेवालाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले जिल्ला हुलाक कार्यालयले गत जेठ २२ गतेदेखि घरमै राहदानी वितरण सेवा सुरु गरेको हो।
जिल्ला हुलाक कार्यालयले जिल्लाभर पालिका स्तरीय हुलाक कार्यालय अन्र्तरगत कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँट गरेको छ। आवश्यक तालिम तथा निर्देशनपछि हुलाक मार्फत राहदानी सुरक्षित रूपमा सम्बन्धित सेवाग्राहीको घरमै पु¥याउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
घरमै राहदानी वितरण सेवा नागरिकमैत्री र प्रभावकारी बन्दै गएको जिल्ला हुलाक कार्यालय प्रमुख निर्मला थापाले बताउनुभयो। उहाँले जिल्लामा सेवा सुरु भएयता१सय१जना सेवाग्राहीलाई राहदानी घरमै वितरण गरिएको बताउनुभयो ।उहाँले यस सेवाबाट नागरिकको समय र खर्च दुवै बचत भएको तथा सरकारी सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुगेकोे बताउनुभयो। सरकारले राहदानीसँगै नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत अन्य सरकारी कागजातसमेत क्रमशः हुलाकमार्फत घरमै उपलब्ध गराउने व्यवस्था विस्तार गर्दै लगिएको उहाँले जानकारी दिनुभयो।
घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।यस सेवाले राहदानी लिन पटक–पटक जिल्ला सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटाएको छ। यसबाट सेवाग्राहीको समय र खर्चको बचत हुनुका साथै सेवा प्रवाह थप सहज र प्रभावकारी बनेको जनाइएको छ। हुलाक सेवामार्फत घरैमा राहदानी पुगेपछि सेवाग्राहीको खर्च र समय दुवैको बचत भएको छ ।








