२०८३ साउन १५ , शुक्रबार

स्थानीयले श्रमदानमै मर्मत गरे ग्रामीण सडक



 


यामराज बिष्ट
दैलेख। वर्षाका कारण अवरुद्ध ग्रामीण सडक स्थानीयवासीको श्रमदानबाट सञ्चालनमा ल्याइएको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिकाका–१,२र३वडाका स्थानीयले कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेका हुन्।
स्थानीयले चामुण्डाबिन्द्रासैनी नगरपालिका–१, २ र ३ हुँदै वडा नं १ को पाल्तसम्म पुग्ने सडक देखि अन्य ठाँउ गरी करिब १४ किलोमिटर सडक मर्मत गरेका हुन्। स्थानीय हिमबहादुर शाहीको नेतृत्वमा तीन दिनसम्म सञ्चालन गरिएको श्रमदान अभियानमा ५५ जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको थियो।
स्थानीय सरकारबाट पटक–पटक आग्रह गर्दा पनि सडक मर्मतमा सहयोग नपाएपछि स्थानीय आफैँ जुटेर सडक सुधारमा लागेको स्थानिय हिमाल शाहीले बताउनुभयो। उहाँले अभियान अन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ को चाल्ले चौतारा बजारदेखि चामुण्डाबिन्द्रासैनी–१ को तिज डाँडा क्षेत्रसम्मको हिलाम्मे सडकमा ढुङ्गा बिछ्याउने, माटो भर्ने र सम्याउने काम गरिएको बताउनुभयो ।
“वर्षौँदेखि सडकको समस्या भोग्दै आएका छौँ,सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि स्थानीय बासिन्दा,सुरक्षा निकाय मिलेर सडक मर्मत गरेका हौँ,” शाहीले भन्नुभयो। उहाँले श्रमदान अभियान कुनै व्यक्तिगत स्वार्थ वा प्रचारका लागि नभई वर्षौँदेखि सडक समस्याबाट प्रभावित नागरिकको आवश्यकता पूरा गर्न सञ्चालन गरिएको बताउनुभयो। उहाँले ढुवानी खर्च स्वयं श्रमदान अभियानमा जुटाइएको र ट्र्याक्टरमा करिब ४० लिटर डिजेल खर्च भएको स्बताउनुभयो ।
वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना नभएको कारण श्रमदान कार्यक्रमले सहज भएको चामुण्डाबिन्द्रासैनि नगरपालिका–२का वडाध्यक्षले थानेश्वर जैसिले बताउनुभयो । उहाँले सडक सञ्चालन भएपछि स्थानीयवासीलाई आवतजावत गर्ने यात्रु र खाद्यान्न ढुवानीमा समेत सहज भएको बताउनुभयो । उहाँले स्थानियले गरेको श्रमदान अभियानमा वडा सरकारले स्वतस्फूर्तरुपमा सहयोग गर्ने बताउनुभयो । उहाँले वडाबाट सडक मर्मत लागी४लाख बजेट छुट्याएकाले समस्या भएको सडक वडा सरकारले मर्मत गर्ने बताउनुभयो ।

पहिलो चरणअन्तर्गत २०८३ साल साउन ९ गते चाल्ने चौतारा बजारदेखि पुनडाँडा–तीजडाँडा सम्म सडक मर्मत गरिएको थियो। यसैगरी दोस्रो दिन साउन १० गते चाल्ने चौतारा बजारदेखि सिमशेरसम्म सञ्चालन गरिएको थियो ।तेस्रो चरणअन्तर्गत साउन १२ गते वडा नं. ३ को ढले पिपलदेखि चौतारा बजारसम्म सडक मर्मत गरिएको थियो।

सडक मर्मतका लागि आवश्यक ढुंगा नजिकै उपलब्ध नभएपछि एउटा ट्र्याक्टरमार्फत ढुंगा ढुवानी गरिएको थियो।सडक मर्मतमा स्थानीयले बेल्चा, हथौडा, कोदालो, लगायतका घरेलु औजार प्रयोग गरेका थिए। वर्षातका कारण बिग्रिएको सडक सुधार भएपछि एम्बुलेन्स, जीप लगायतका सवारी साधनकोआवतजावतमा समेत सहज भएको छ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार
प्रतिक्रिया