२०८३ साउन १६ , शनिबार

बाँझो जमिनमा व्यावसायिक ओखर खेती विस्तार



यामराज बिष्ट
दैलेख । पछिल्लो समयमा दैलेख जिल्लामा किसानले बाँझो जमिनमा व्यावसायिक ओखर खेती गर्न सुरु गरेका छन् । खाद्यान्न बाली लगाउँदा उत्पादन कम भएको भन्दै बाँझो जमिनमा किसानले ओखर खेती गर्न सुरु गरेका हुन् ।
जिल्लाको नारायण नगरपालिकाका विभिन्न वडामा बाझो जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले किसानले ओखर खेती सुरु गर्न थालेको छ । लामो समयदेखि प्रयोग विहीन र बाँझो अवस्थामा रहेको जमिन अहिले हरियालीले भरिन थालेपछि कृषकहरूमा नयाँ आशा पलाएको हो ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन इकाइ सुर्खेतको सहयोगमा नारायण नगरपालिका–११ स्थित मालिका स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामार्फत नारायण नगरपालिका वडा नं ११मा काडामा ओखर खेती गरिएको हो ।कार्यक्रम अन्तर्गत करिब २२० वटा बिरुवा रोपिएको छ। कुल ६ लाख ५० हजार रुपैयाँ लागतको कार्यक्रममा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको जनाइएको छ।
रुख तथा घाँसेमैदान रहेको बाझो जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले बाझो जमिनमा ओखर खेती सुरु गरेको स्थानीय किसान हेमराज अधिकारीले बताउनुभयो । उहाँले समुह, सहकारी र फर्म मार्फत किसानले ओखरको खेती सुरु गरेको बताउनुभयो । उहाँले दाँते ओखर खेतीबाट जीविकोपार्जनमा सहज हुने सम्भावना देखिएपछि अधिकांश किसानहरू यस खेतीतर्फ आकर्षित बन्दै बताउनुभयो ।
यस्तै नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाले बाझो जमिनको सदुपयोग गर्दै फलफूल खेती विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँलेअनुगमनका क्रममा ओखर खेतीले स्थानीय कृषकहरूलाई दीर्घकालीन आम्दानीको स्रोत दिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।यस्ता कार्यक्रमले कृषि उत्पादन वृद्धि, आयआर्जन तथा रोजगारी सिर्जनामा टेवा पुग्ने उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो। उहाँले नगरपालिकाले ओखर खेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखर खेति बिस्तार गर्न सहयोग गरिने बताउनुभयो।
आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको नगरपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको नारायण नगरपालिका प्रवत्ता तथा६नं वडाका वडाध्यक्ष जनकप्रसाद न्यौपानेले बताउनुभयो।उहाँले नगरपालिकाले मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार
प्रतिक्रिया