२०८३ साउन १७ , आइतबार

ग्यास अभावले होटेल व्यवसाय सङ्कटमा



 

दैलेख। पछिल्लो समय दैलेख जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति अनियमित भएपछि होटल व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको छ। जिल्लामा ग्यास अभावका कारण होटल व्यवसायीले दैनिक सेवा प्रवाह गर्न कठिनाइ भोग्नुपरेको बताएका छन्।
बजारमा ग्यास सिलिन्डर सहज रूपमा उपलब्ध नभएपछि होटल व्यवसायीहरू वैकल्पिक इन्धनको खोजीमा लाग्न बाध्य भएका छन्। कतिपय होटलले सीमित परिमाणमा मात्र खाना पकाउने व्यवस्था मिलाएका छन् भने केही व्यवसायीले सेवा नै प्रभावित भएको बताएका छन्।

होटल होलिडेका सञ्चालक योगेश खड्काले ग्यास अभावका कारण होटल व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो। उहाँले दैनिक ग्राहकलाई सेवा दिनुपर्ने भएकाले ग्यास अभावले व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर परेको बताउनुुयो । उहाँले भन्नुभयो, “ग्यास अभाव भएको आज करिब ६ दिन भन्दा भयो। बजारमा पटक–पटक खोज्दा पनि ग्यास पाइँदैन। ग्यास नहुँदा होटल सञ्चालन गर्न निकै समस्या भएको छ। यही अवस्था अझै लम्बिए होटल बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।”समयमै ग्यास उपलब्ध नहुँदा व्यवसायी आर्थिक रूपमा समेत मारमा परेको उहाँको भनाइ छ।
यस्तै ग्यास अभावले होटल बन्द गर्नुपर्ने अवस्था उत्पन्न भइसकेको भवानी होटलका सञ्चालक देव कुमारी अधिकारी बस्नेतले बताउनभयो । उहाँले ग्यास अभावका कारण होटल व्यवसायीहरू वैकल्पिक उपाय खोज्न बाध्य भएका बताउनुभयो ।
यस्तै होटल व्यवसायी पुष्कर बयक अनुसार ग्यास अभावले होटल ब्यवसाय देखि सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको बताउनुभयो। उहाँले करिब एक हप्ता देखि व्यवसायीहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले सर्बसाधरण देखि होटल तथा रेस्टुरेन्टमा दैनिक रूपमा ग्यास आवश्यक पर्ने भएकाले यस्ता व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।होटल क्षेत्रमा दैनिक रूपमा प्रयोग हुने ग्यास नै अभाव हुन थालेपछि व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने चिन्ता बढेको छ,’ उहाँले भन्नुभयो।

प्रशासनले वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाएर ग्यास अभाव हुन नदिने गरी अनुगमनलाई निरन्तरता दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो ।उहाँले जिल्लामा अभाव भएको गुनासो आएकोले अभाब हुन नदिन सम्बन्धी निकाएकालाई पहल गरेको बताउनुभयो।उहाँले जिल्लामा ग्यास लुकाएको पाएमा कानुन अनुसार कारबाही गरिने बताउनुभयो ।
होटल व्यवसायीहरूले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकाय र ग्यास वितरक कम्पनीसँग माग गरेका छन्। उनीहरूले तत्काल आपूर्ति सहज नबनाइए जिल्लाका अधिकांश होटल व्यवसाय थप प्रभावित हुने बताएका छन्।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार
प्रतिक्रिया