
यामराज बिष्ट
दैलेख।पछिल्लो समयमा जंगली जनावर बँदेलले मकैबाली नष्ट गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा जङ्गली जनावरको बढ्दो आतंकका कारण किसान मकैबाली जोगाउन रातभर बारीमै जाग्राम बस्न बाध्य भएका छन्। जिल्लामा किसानले लगाएको मकै दिउँसोको समय बाँदर र राति बँदेल, दुम्सीलगायत जङ्गली जनावरले बाली नष्ट गर्न थालेपछि किसानको चिन्ता बढेको हो।
जिल्लाको भैरवी गाउँपालिका–७ लगायतका जिल्लाका अन्य बस्तीमा किसानले मकैबारीमै मचान अग्लो छाप्रो बनाएर पालैपालो रातभर बाली कुर्न थालेका छन्। वर्षभरको मेहनतबाट उत्पादन भएको मकै घर भित्र्याउने बेलामा जङ्गली जनावरले ठूलो क्षति पु¥याउन थालेपछि मकैबारीमै रात बिताउनुपर्ने बाध्यता सिर्जना भएको किसानको भनाइ छ।
स्थानीय किसान भवानीप्रसाद कडेलले दिनभर बारीमा काम गरेपछि राति बँदेल धपाउन मचानमै बस्नुपर्ने अवस्था रहेको बताउनुभयो। “केहीबेर आँखा लाग्यो भने बिहान उठ्दा आधाभन्दा बढी मकै सखाप भएको हुन्छ,” उहाँले भन्नुभयो, “वर्षभरको मेहनत जोगाउन रातभर जाग्राम बस्नुको विकल्प छैन।”उहाँले जङ्गली जनावरको सख्या बढ्दै जाँदा खेतीपातीप्रति किसान निरुत्साहित बन्दै गएको बताउनुभयो । बँदेलको बथान एकैपटक खेतमा पस्दा केही मिनेटमै ठूलो क्षेत्रफलको मकैबाली नष्ट हुने गरेको उहाँले बताउनुभयो।
अर्का भैरबी गाँउपालिका– ७ लाटोमहरेका किसान छबिलाल कडेलले बँदेल धपाउन टिन बजाउने, टर्च बाल्ने, लगायत उपाय अपनाए पनि दीर्घकालीन समाधान हुन नसकेको बताउनुभयो। “केही समयपछि बँदेल फेरि बारीमै फर्किन्छ,” उहाँले भन्नुभयो, “रातभर जाग्राम बस्नुपर्दा स्वास्थ्यमा समेत असर पर्न थालेको छ।”उहाँले जङ्गली जनावरका कारण हरेक वर्ष हजारौँ रुपैयाँ बराबरको मकैबाली नोक्सान हुँदै आएको बताउनुभयो। उहाँले बँदेल रबाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको गुनासो गर्नुधयो ।
पर्याप्त संरक्षणका उपाय नहुँदा केही किसान जमिन बाँझै राख्ने सोचमा पुगेका छन् । स्थानियवासीले जङ्गली जनावरबाट बाली जोगाउन प्रभावकारी नियन्त्रण, क्षतिपूर्ति व्यवस्था तथा दीर्घकालीन संरक्षणका उपाय कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै आवश्यक पहल नभए आगामी वर्षहरूमा मकैखेती घट्दै जाने र खाद्य उत्पादनमा समेत नकारात्मक असर पर्ने उनीहरूको चिन्ता छ।








