२०८३ भदौ २६ , शुक्रबार

स्थानीय सरकारबीच सहकार्य बढाउन चक्रीय बैठक



 

दैलेख । जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा पहिलो संयुक्त चक्रीय बैठक दुल्लूमा सम्पन्न भएको छ।

बैठकमा विपद् व्यवस्थापन, विकास निर्माण तथा सेवा प्रवाहका क्रममा स्थानीय तहले अवलम्बन गरेका असल अभ्यासबारे अनुभव आदानप्रदान गरिएको दुल्लू नगरपालिकाका नगरप्रमुख तथा बैठकका अध्यक्ष भरतप्रसाद रिजालले जानकारी दिनुभयो।

यस्तै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले संयुक्त चक्रीय बैठकले स्थानीय तहबीचको समन्वय, सहकार्य र अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने बताउनुभयो। आगामी बैठक गुराँस गाउँपालिकाले आयोजना गर्ने जानकारी दिँदै उहाँले बैठकलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन आवश्यक तयारी गरिने उल्लेख गर्नुभयो।

उहाँले विपद् व्यवस्थापन, विकास आयोजना कार्यान्वयन, सेवा प्रवाह तथा सुशासनका असल अभ्यास साझा गर्ने प्रभावकारी मञ्चका रूपमा संयुक्त चक्रीय बैठकलाई निरन्तरता दिइने बताउनुभयो। स्थानीय तहबीच नियमित संवाद र सहकार्यबाट साझा समस्या समाधान गर्न तथा विकासका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

विपद् जोखिम न्यूनीकरण, विकास आयोजना कार्यान्वयन, सेवा प्रवाहका चुनौती तथा समाधानका उपायबारे छलफल गर्दै स्थानीय तहबीच नियमित समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार
प्रतिक्रिया