
सल्यान, साउन २१ गते। सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेरामा मृत अवस्थामा फेला पर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका–७ कोदालचौर निवासी ४८ वर्षीय हरिबहादुर वली बागचौर नगरपालिका–६ ठुलाहिमस्थित डेरामा मृत फेला पर्नुभएको हो। उहाँ सरस्वती माध्यमिक विद्यालय, ठुलाहिममा अध्यापनरत हुनुहुन्थ्यो।
प्रहरीका अनुसार मङ्गलबार राति खाना खाएर सुत्नुभएका वलीलाई बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा प्रतिक्रिया नदिएपछि इलाका प्रहरी कार्यालय सिमखोलीमा खबर गरिएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक निरज खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि गरेको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।








