२०८३ भदौ २६ , शुक्रबार

क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि कारबाही



 

दैलेख। दैलेख–सुर्खेत सडकखण्डमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले संयुक्त अनुगमन तथा चेकजाँच अभियान सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले गरिएको अनुगमनका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
कारबाहीमा परेका सवारीसाधनलाई यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै तोकिएको सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन समेत गरिएको जिल्ला प्रहरी कार्याल प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो । उहाँले दैलेख–सुर्खेत सडकखण्ड नारायण नगरपालिका १ मालपोत नजिकै चेकजाँच गरिएको बताउनुभयो ।उहाँले अनुगमनका क्रममा सवारीसाधनको प्राविधिक अवस्था, सिट क्षमताअनुसार यात्रु राखिएको वा नराखिएको, चालकले ट्राफिक नियम पालना गरेको वा नगरेको तथा सुरक्षित यात्रासम्बन्धी अन्य पक्षको समेत निरीक्षण गरिएको बताउनुभयो।
प्रहरीका अनुसार सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संयुक्त अनुगमन गरिएको हो। आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
अनुगमन कार्यक्रममा ट्राफिक प्रहरी, जनप्रतिनिधि, यातायात व्यवसायी संघका पदाधिकारी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीको सहभागिता रहेको थियो। प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेकाले सवारी जाँचलाई तीव्र पारेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
प्रतिक्रिया