दैलेख । जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय र प्रहरीले बजार अनुगमन तथा निगरानी बढाएका छन् । ग्यास अभावको मौका छोपी कालोबजारी, कृत्रिम अभाव र मनोमानी मूल्यवृद्धि हुन नदिन आइतबार ग्यास डिलरमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीले दैलेख बजारस्थित मनकामना, राप्ती र भेरी ग्यासका डिलरमा पुगेर भौतिक निरीक्षण तथा मौज्दात जाँच गरेको थियो । अनुगमनका क्रममा कुनै पनि डिलरमा ग्यासको मौज्दात नरहेको पाइएको टोलीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न डिलर सञ्चालकलाई निर्देशन दिनुभयो । ढुवानीका कारण मूल्यमा थपघट गर्नुपर्ने अवस्था आए प्रशासन र प्रहरीलाई जानकारी गराएर समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो ।
ग्यासको अभाव भएका बेला नयाँ सिलिन्डर बिक्री गर्नुभन्दा पुराना तथा वास्तविक उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।
डिलर सञ्चालक यज्ञप्रसाद रेग्मीले आपूर्ति केन्द्रबाटै पर्याप्त ग्यास नआएकाले जिल्लामा अभाव भएको बताउनुभयो । उहाँले पुराना उपभोक्तालाई प्राथमिकता दिएर ग्यास वितरण भइरहेको जानकारी दिनुभयो ।
प्रशासनले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने कार्य हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।









