२०८३ भदौ १२ , शुक्रबार

मादल बनाउन छालाको अभाव हुँदा पेसा नै सङ्कटमा



यामराज बिष्ट
दैलेख । पछिल्लो समय जिल्लामा कच्चा पदार्थको अभाव, उत्पादन लागत वृद्धि कारण बादी समुदायको परम्परागत रुपमा बनाउने मादल पेसा सङ्कटमा पर्न थालेको छ ।जिल्लामा पुस्तौँदेखि जीविकोपार्जनको माध्यम बन्दै आएको मादल बनाउने पेसाप्रति कच्चा पदार्थको अभाव देखि नयाँ पुस्ताको आकर्षण घट्दै गएपछि मादल पेसा सङ्कटमा पर्न थालेको हो ।
दैलेख सदरमुकाम लगायत जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने बादी समुदायले परम्परागत रूपमा मादल, ढोलक, दमाहा लगायतका मौलिक बाजा बनाउँदै आएका छन् । दैलेख जिल्लामा कुनै समय गाउँदेखि सहरसम्म चाडपर्व, विवाह, पूजाआजा तथा सांस्कृतिक कार्यक्रमका लागि मादलको माग उच्च हुने गरे पनि पछिल्ला वर्षमा यसको बिक्री घट्दै गएको व्यवसायी बताउँछन् ।
नारायण नगरपालिका–१ नमुना बस्तीमा बसोबास गर्दै आएका ५५बर्षिया जयलाल वादीले पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको बताउनुभयो । उहाँले आफू करिब१६बर्ष यतादेखि मादल बनाउने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो । उहाँले मादल एक हजार देखि१५सयमा बिक्री भएपनि मेहनतअनुसार आम्दानी नहुने र बजारसमेत सुनिश्चित नहुँदा नयाँ पुस्ता यो पेसाबाट टाढिँदै गएको उहाँको भनाइ छ।
मादल व्यवसायीले जयलालले भन्नुभयो “पहिले चाडपर्वका बेला मादल पु¥याउनै सकिँदैनथ्यो । पछिल्लो समयमा गाउँगाउँबाट मानिस मादल किन्न आउँथे । अहिले भने बनाएर राखेका मादलसमेत बिक्री गर्न समस्या गरेको हुन्छ।”

उहाँले मादल बनाउन आवश्यक पर्ने काठ, छाला, डोरीलगायतका कच्चा पदार्थ जुटाउनसमेत समस्या हुने गरेको गुनासो गर्नुभयो । उहाँले स्थानीयस्तरमै सहज रूपमा पाइने कतिपय कच्चा पदार्थ अहिले महँगो हुनुका साथै सहज रूपमा उपलब्ध नहुँदा मादल बनाउने पेसा सङ्कटमा परेको बताउनुभयो । उहाँले एउटा मादल तयार गर्न सामान्यतया दुईदेखि तीन दिनसम्म लाग्ने व्यवसायीको भनाइ छ । मादलको आकार, प्रयोग हुने सामग्री र गुणस्तरअनुसार यसको मूल्य सामान्यतया एक हजार देखि पन्ध रुपियाँसम्म पर्ने गरेपनि काठ, छाला, डोरीलगायतका सामग्री हुने गरेको उहाँको भनाई छ ।
नयाँ पुस्ता पेसाबाट टाढिँदै
जिल्लामा मादल बनाउने सीप भने जस्तो आम्दानी नहँुदा पछिल्लो समय नयाँ पुस्ताले यसलाई पेसाका रूपमा निरन्तरता दिन रुचि देखाउन छाडेको व्यवसायी बताउँछन् । मेहनत धेरै गर्नुपर्ने, कच्चा पदार्थ जुटाउन समस्या हुने र उत्पादनको उचित मूल्य नपाइने भएपछि युवाहरू वैकल्पिक रोजगारी तथा व्यवसायको खोजीमा लाग्न थालेका छन् ।
बादी समुदायमा मादल बनाउने सीप केवल आम्दानीको माध्यम मात्र नभई उनीहरूको मौलिक पहिचानसँग जोडिएको पेसा भएको नमुना बस्तीका कमला नेपालीले बताउनुभयो । उहाँले यस पेसाबाट पर्याप्त आम्दानी नहुने भएपछि युवाहरू अन्य कामका लागि जिल्ला तथा देशका विभिन्न ठाउँमा जाने क्रम बढेको समुदायका बताउनुभयो ।
संरक्षणमा सरकारको भूमिका आवश्यक
मादल बनाउने पेसा संरक्षणका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मले विशेष कार्यक्रम ल्याउनुपर्ने व्यवसायीको माग छ । सरकारले सीप संरक्षण, तालिम, कच्चा पदार्थमा सहुलियत, र बजारीकरणमा सहयोग गर्नुपर्ने वादी समुदायको माग छ । परम्पराग रुपमा बनाईने मादले व्यवसायीलाई आवश्यक सीप विकास तालिम गराउन सके पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिने नारायण नगरपालिका-६का वडाध्यक्ष जनकप्रसाद न्यौपाले बताउनुभयो । उहाँले स्थानिय स्तरमा उत्पादित मादल बिक्री देखि कला साँस्कृति संरक्षका लागि प्रदेश सरकार देखि वडा सरकारले पहल देखि तालिम आयोजना गरिने बताउनुभयो ।
संस्कृति जोगाउने चिन्ता
मादल नेपाली लोकसङ्गीत र संस्कृतिसँग गहिरो रूपमा जोडिएको मौलिक बाजा हो । गाउँघरमा हुने चाडपर्व, विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादलको आफ्नै महत्त्व रहँदै आएको छ । तर यसको निर्माण र प्रयोग दुवै घट्दै जाँदा मौलिक सीप र सांस्कृतिक परम्परा हराउने जोखिम बढेको सरोकारवालाको भनाइ छ ।
बादी समुदायका लागि मादल बनाउने पेसा आर्थिक गतिविधिसँग मात्र सम्बन्धित नभई उनीहरूको पुस्तौँदेखिको सीप, ज्ञान र पहिचानसँग जोडिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दैलेखका अध्यक्ष हेमराज अधिकारीले बताउनुयो । उहाँले यसलाई केवल एउटा व्यवसायका रूपमा नभई अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका रूपमा हेर्नुपर्ने माग गर्नुभयो ।उहाँले सरकारले बादी समुदायका परम्परागत सीपलाई सबैले सहयोग गर्न सके मादल बनाउने पेसालाई संरक्ष गर्न सकिने बताउनुभयो ।

मादल व्यवसायीले लोप हुँदै गएको मौलिक बाजा र यससँग जोडिएको सीपको संरक्षणका लागि तत्काल ठोस कार्यक्रम ल्याउन तीनै तहका सरकारसँग माग गरेका छन् ।उनीहरूका अनुसार समयमै संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन नगरिए पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मादल बनाउने सीपसँगै बादी समुदायको मौलिक पहिचानसमेत हराउँदै जाने खतरा छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार
प्रतिक्रिया