
दैलेख । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक सुशासनमा युवाको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल)को आयोजना तथा नारायण नगरपालिकाको समन्वयमा दैलेखको नारायण नगरपालिकामा आयोजित सार्वजनिक शिक्षासम्बन्धी युवा नेतृत्वको मूल्याङ्कन तथा छलफल कार्यक्रममा सहभागीले युवालाई शिक्षाका उपभोक्ताका रूपमा मात्र नभई नीति निर्माण र शैक्षिक सुधारका साझेदारका रूपमा सहभागी गराउनुपर्ने धारणा राखेका हुन्।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले नगरको शिक्षा क्षेत्र सुधारमा एनसिइ नेपाललगायत नागरिक समाजसँग निरन्तर सहकार्य भइरहेको बताउनुभयो। उहाँले आगामी दिनमा शिक्षा क्षेत्रको अनुगमनमा युवाको सहभागिता बढाउने र विद्यालय व्यवस्थापन समितिमा युवा तथा विद्यार्थीको प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय तह, नागरिक समाज र सरोकारवाला संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने नगरप्रमुख शर्माले बताउनुभयो।
नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी खड्का थापाले शिक्षा क्षेत्रमा समावेशी अभ्यासलाई अनिवार्य रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। एनसिइ नेपालले शिक्षा क्षेत्र सुधारका लागि पहिचान गरेका २५ वटा सूचकलाई आधार बनाएर आगामी दिनमा सुधारका कार्यक्रम अघि बढाइने उहाँले जानकारी दिनुभयो।
एनसिइ नेपाल दैलेखका जिल्ला अध्यक्ष भरतराज अधिकारीले नारायण नगरपालिकाभित्रका सबै विद्यालय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस)मा आबद्ध हुनु सकारात्मक पक्ष भएको बताउनुभयो। विद्यालयसम्बन्धी तथ्याङ्क अद्यावधिक र पारदर्शी बनाउन प्रणालीमा आबद्धताले सहयोग पुग्ने उहाँको बताउनुभयो। उहाँले विद्यालयलाई प्रणालीमा दर्ता गर्ने कार्यसँगै अब शैक्षिक उपलब्धि र गुणस्तर सुधारमा पनि समान रूपमा ध्यान दिनुपर्ने बताउनुभयो।
छलफलमा विद्यार्थी तथा युवालाई शिक्षाका ‘उपभोक्ता’का रूपमा मात्र सीमित नगरी शैक्षिक सुशासन, योजना निर्माण र नीतिगत सुधारमा सक्रिय सहभागी गराउनुपर्नेमा जोड दिइएको थियो। युवासँग नयाँ दृष्टिकोण, प्रविधिमैत्री सोच तथा नवप्रवर्तनको क्षमता रहेकाले उनीहरूको सहभागिताले विद्यालय सुधारलाई थप प्रभावकारी बनाउन सक्ने सहभागीको धारणा थियो।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटा ,प्रमुख शिक्षा अधिकृत पुर्णप्रसाद उपाध्याय, शिक्षा अधिकृत शूर्यलाल पाण्डे, सामाजिक बिकास अधिकृत खमबहादुर थापा,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बुढा, बाल विकास संयोजक कर्ण बहादुर खत्री विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षा सञ्जालका प्रतिनिधि, शिक्षक, नागरिक समाज, तथा पत्रकारको सहभागिता थियो।








