
यामराज बिष्ट
दैलख । लगातारको वर्षापछि दैलेख जिल्लाको नारायण नगरपालिका–१ गणेशचोक नजिक रहेको नमुना बस्तीमा बसोबास गर्दै आएका बादी समुदाय त्रासपूर्ण अवस्थामा जीवन बिताउन बाध्य भएका छन्। बर्खाको समयमा भिरालो जमिनमा बनेका कच्ची घर पहिरोको उच्च जोखिम कारण बादी समुदाय त्रासमा बस्न बाध्य छन् ।
नमुना बस्तीकी मैनकला बादीले वर्षा सुरु भएसँगै घरभित्र पानी पस्ने, जमिन चर्किने तथा घर भत्किने डरले रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले दिनभर मजदुरी गरेर साँझ घर फर्किए पनि सुरक्षित रूपमा निदाउन नपाएको गुनासो गर्नुभयो। बस्तीको दीर्घकालीन व्यवस्थापन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघ, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको माग छ। “हरेक वर्ष वर्षायाम सुरु हुनासाथ यही त्रास दोहोरिन्छ। अब स्थायी समाधान आवश्यक छ,” उहाँले भन्नुभयो।
यस्तै नमुना बस्तीकी मनकुमारी बादीले पनि ठूलो वर्षा हुँदा पहिरोको जोखिमका कारण रातभर निद्रा नलाग्ने गरेको बताउनुभयो। उहाँले घर बर्षा सुरु भए आफ्नो घर भत्किएको बताउनुभयो । उहाँले वर्षायाममा ज्यान जोगाउने चिन्ताले दैनिक जीवन कष्टकर बनेको सुनाउनुभयो। उहाँ आफ्नै घर नजिकै करिब चार बर्ष अगाडि ३जना ज्यान गएको सम्झनाको स्मरण गर्दै झन क्रास भएको बताउनुभयो ।
बर्खा लागेपछि भने यहाँ सुत्न निकै डर लाग्ने गरेको नमुना बस्ती कमला नेपालीले बताउनुभयो। उहाँले धेरै वर्षा हुँदा घरभित्र पानी पस्ने र घर वरपरको जमिन बग्न थालेपछि परिवारका सदस्य रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाँले बर्खाको समय सधैँ यसरी चिन्तैचिन्तामा रात काट्नु परेको बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका कारण आफ्नै पहलमा सुरक्षित स्थानमा घर बनाउन नसकिएको उल्लेख गर्दै सरकारलाई सुरक्षित आवासको व्यवस्था गरिदिन आग्रह गर्नुभयो।
यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपयुक्त जग्गाको खोजी गर्न स्थानिय सरकार संग समन्वय गरिने बताउनुभयो। उहाँ प्रभावित परिवारको सुरक्षा पहिलो प्राथमिकतामा राखी स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरेर सहयोग र पुनःस्थापनाको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो। उहाँले स्थानिय सरकारले समस्यालाई समधान गर्न पहल गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
नारायण नगरपालिका–१ का वडाध्यक्ष शैलेश श्रेष्ठका अनुसार जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न वडा कार्यालयले पहल गरे पनि नमुना बस्तीमा बसोबास गर्दै आएका बादी समुदाय अन्यत्र जान तयार नभएका कारण समस्या भएको बताउनुभयो । उहाँले भिरालो ठाउँमा भएकाले वर्षायाममा जोखिम भएको बताउनुभयो । उहाँले तत्कालका लागि वडाले जोखिममा रहेका घरपरिवारलाई क्रिपाल उपलब्ध गराएको उहाँले बताउनुभयो।
उहाँले वडा कार्यालयले आफ्नो क्षमताअनुसार आवश्यक सहयोग तथा सम्बन्धित निकायसँग समन्वयलाई निरन्तरता दिँदै दीर्घकालीन रूपमा सुरक्षित आवासको व्यवस्था गर्न पहल गरिने जानकारी दिनुभयो।
बर्खाको समय अविरल वर्षा हुँदा यी बस्तीमा वर्षेनी दोहोरिने प्राकृतिक विपद्का कारण बादी समुदाय असुरक्षित बासस्थानमा जीवन बिताउन बाध्य छन्। उनीहरूले अस्थायी राहतभन्दा सुरक्षित र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।








