२०८३ भदौ २६ , शुक्रबार

दैलेखमा एक महिने वर्षे मेला सुरु



यामराज बिष्ट
दैलेख । दैलेख सदरमुकाम लगायत जिल्लाका विभिन्न स्थानमा मनाइने एक महिने वर्षे मेला मङ्गलबारदेखि सुरु भएको छ। सयौँ वर्ष पुरानो मानिएको यो मेला गाँठे मङ्गल पर्वसँगै सुरु हुने परम्परा रहेको छ।
गाँठे मङ्गलका दिन पातीको ठूलो पुत्ला बनाएर लामो डोरीमा सिस्नो बाँधी बाटो छेक्ने र आवतजावत गर्ने सर्वसाधारणसँग दक्षिणा माग्ने चलन छ। ‘गाँठे मङ्गले दान दिनुहोस्, घैँटे सर्प पैसा दिनुहोस्’ भन्दै बाटोमा गाँठे मङ्गलको आकृति बनाएर दक्षिणा माग्ने गरिन्छ। पर्वका दिन बाटोमा हिँड्ने व्यक्तिबाट गाँठे मङ्गलको रक्षाका लागि भन्दै दक्षिणा लिने परम्परा रहेको स्थानीय जानकार बताउँछन्।
गाँठे मङ्गलदेखि सुरु हुने वर्षे मेलामा लाखे जात्रा, टाकटुके जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा र जोगी जात्रालगायतका विभिन्न जात्रा सञ्चालन गरिन्छ। कृष्ण जन्माष्टमीको राति कृष्णको जन्म गराई भोलिपल्ट कृष्ण र कंसको प्रतीकका रूपमा लाखेलाई बजार परिक्रमा गराउने गरिन्छ। साँझ कृष्णले लाखेको वध गरेपछि एक महिने वर्षे मेला समापन हुने परम्परा रहेको छ।
परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको वर्षे मेला पछिल्लो समय दैलेखमा सबै जातजातिको साझा पर्वका रूपमा विकसित भएको छ। मेलाका अवसरमा जिल्लाका विभिन्न स्थानबाट हजारौँ मानिस सदरमुकाम आउने गरेका छन्। आपसी भेटघाट, मेलमिलाप तथा स्थानीय उत्पादनको खरिद–बिक्रीका लागि समेत यो मेला महत्वपूर्ण मानिन्छ। दैलेख सदरमुकामको चोक चोकमा घण्टा कर्णको आकृति राखेर गाठेमंगल मनाइने गरिन्छ।

गाठेमंगल सेलाएपछि बर्खे मेला अन्तर्गत लाखे जात्रा निकाले गरिन्छ। जिल्लामा १ महिनासम्म बर्खे मेला अन्तर्गत विभिन्न मेलाहरु सदरमुकाममा संदियौं देखि निकाल्ने गरिएको एभरेस्ट क्लब दैलेखका कार्यसमिती सदस्य मनोज थापाले बताउनुभयो । उहाँले दैलेखमा करिब दुई सय ५० वर्षदेखि वर्षे मेला मनाइँदै आएको बताउनुभयो।
दैलेख सदरमुकाममा एभरेस्ट क्लब, सुनगाभा क्लब, न्यू ज्वाला क्लब,अभिषेक स्मुति क्लब र भगवती युवा क्लबले वर्षे मेलाअन्तर्गतका जात्रा सञ्चालन गर्दै आएका छन्।
वर्षे मेला अवधिभर सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। मेलामा मदिरा सेवन गरी हुने झैझगडा तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। गाठे मंगल देखि शुरु हुने वर्षे मेला कृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटे सँगै समापन हुने गर्दछ ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार
प्रतिक्रिया