
दैलेख। महाबु गाउँपालिकामा निर्माणाधीन ताराघाट–खरिगैरो–गैडाबाज–एकपाटे–टाकुरी–काशिकाँध सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। सडकमा ठूला खाल्डाखुल्डी हुनुका साथै वर्षायाममा हिलो र जोखिम बढेपछि यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको भन्दै स्थानीयले निर्माण कार्यमा तीव्रता दिन माग गरेका हुन्।
स्थानीय सर्वजित नेपालीले महाबु मुख्य सडक लामो समयदेखि सडक निर्माणको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले तोकिएको समयसीमाभित्र सडक निर्माणको काम सम्पन्न नभए सडक अवरुद्ध गरी आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले लामो समयदेखि सडक निर्माणको काम अलपत्र पर्दा आवतजावतमा समस्या हुनुका साथै सास्ती भोग्दै आएको भन्दै अब थप ढिलाइ सहन नसक्ने बताउनुभयो । उहाँले स्थानिय सरकार संग पटक पटक आग्रह गर्दा पनि सडक निर्माण हुन नसकेको कारण स्थानिय आन्दोलनमा उत्रिने बताउनुभयो ।
यस्तै अर्का महाबु गाँउपालिका २का स्थानीय अमर थापाले सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले वर्षायाममा हिलो कारण समस्या झेल्नुपरेको बताउनुभयो। उहाँले सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो। उहाँले दैनिक आवतजावतमा समस्या भएको बताउँदै निर्माण कार्य तत्काल अघि बढाउन माग गर्नुभयो।
सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन कर्णाली प्रदेश सरकारसँग पत्र पठाएकोे महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो। उहाँले गाउँपालिकाले निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा सम्झौताअनुसार काम सम्पन्न गर्न आग्रह तथा ताकेता गरे सडक निर्माण हुन नसकेको उहाँको भनाइ छ।
उहाँले केही समयअघि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कर्णाली प्रदेशलाई पत्राचार गरी निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सम्पन्न नगरेको र ढिलासुस्ती गरेको जानकारी गराइएको बताउनुभयो।
महाबु गाउँपालिकाको केन्द्रलाई दैलेख सदरमुकामसँग जोड्ने मुख्य तथा रणनीतिक सडक भएकाले निर्माणमा भएको ढिलाइले स्थानीय नागरिक, कर्मचारी, विद्यार्थी, बिरामी तथा सेवाग्राहीलाई दैनिक आवतजावतमा समस्या भएको गाउँपालिकाले जनाएको छ। वर्षायाममा सडक झन् जोखिमपूर्ण बनेपछि सार्वजनिक सेवा प्रवाह, स्वास्थ्य सेवा, शैक्षिक गतिविधि तथा स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको गाउँपालिकाको जनाएको छ।
पूर्वाधार विकास कार्यालय दैलेखका अनुसार सडक निर्माणको हालसम्म करिब ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ। कार्यालयले पन्त आकृति जेभी, गुल्मीसँग २०७९ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।हाल सम्झौताको अवधि २०८३ भदौ ८ गतेसम्म रहेको पूर्वाधार विकास कार्यालय दैलेखका जनाएको छ । उहाँले तोकिएको समयमा काम सम्पन्न नभए प्रगतिका आधारमा कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
सम्झौताअनुसार १९ किलोमिटर सडक कटिङ तथा चौडाइ विस्तार र छ किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने योजना रहेको छ। सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि हिलो र जोखिमपूर्ण यात्राको समस्या भोग्दै आएका छन्।








