२०८३ भदौ २६ , शुक्रबार

पत्रकार थापालाई डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार



 

दैलेख । नेपाल पत्रकार महासंघ दैलेख शाखाले डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार पुरुषोत्तम थापा ‘पुष्कर’लाई प्रदान गरेको छ।महासंघ दैलेख शाखाले पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार स्वर्गीय डेकेन्द्रराज थापाको २२ औ स्मृति दिवसको अवसरमा नारायण नगरपालिका–२, दैलेख निवासी पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरेको हो।

पत्रकार थापालाई नगद ५ हजार १ रुपैयाँ प्रदान  पुरस्कार प्रदान गरिएको हो। थापालाई द्वन्द्वकालमा माओवादीलबाट हत्या गरिएका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन देखि उहाँको कार्यकालमा थालिएको आन्दोलनको दवावमा प्रहरीले २०६९ माघमा पत्रकार डेकेन्द्रराज थापाको हत्या घटनाका कसूरदारलाई पक्राउ गरी अनुसन्धान थालेपछि न्यायिक प्रक्रिया अगाडि बढेको भन्दै महासंघका पूर्व जिल्ला अध्यक्ष पुस्कर थापालाई योगदानको कदर सम्मान गरिएको शाखाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरेको हो।

पुरस्कारले पत्रकारितामा सक्रिय पत्रकारलाई थप हौसला मिल्ने तथा स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान र उहाँको न्यायको यात्रालाई स्मरण गराइरहने महासंघले जनाएको छ।

यस्तै शाखाले पत्रकार याम शर्मालाई विशेष सम्मान अर्पण गरेको छ। द्वन्द्वकालमा नृशंस हत्या गरी पुरिएका स्वर्गीय पत्रकार थापाको शव उत्खनन गरी घटनासम्बन्धी तथ्य उजागर गर्ने जोखिमपूर्ण कार्यमा पुर्‍याएको अतुलनीय तथा साहसिक योगदानको उच्च कदर गर्दै महासंघले शर्मालाई सम्मान गरेको हो। सम्मानित शर्मा प्रेस चौतारी नेपाल, कर्णाली प्रदेशका इन्चार्जसमेत हुनुहुन्छ।

द्वन्द्वकालमा माओवादी कार्यकताले स्वर्गीय पत्रकार थापाको अपहरण गरी हत्या  गरेका थिए। माओवादीको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो ।चार वर्षपछि उहाँको शव जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो। पत्रकार थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
प्रतिक्रिया