
दैलेख। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दैलेखले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बसन्तमाला वेद विद्याश्रम दैलेखलाई विभिन्न खाद्यान्न हस्तान्तरण गरेको छ।
विद्याश्रममा अध्ययनरत विद्यार्थीको दैनिक खाद्य आवश्यकतालाई सहयोग पुर्याउने उद्देश्यले करिब८ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरिएको शाखा कार्यालय दैलेखले जनाएको छ। हस्तान्तरण गरिएका सामग्रीमा विद्यार्थीको नियमित भोजनमा आवश्यक पर्ने विभिन्न खाद्यवस्तु रहेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखका सूचना अधिकारी रविनकुमार रेग्मीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो। उहाँले आवश्यकतामा रहेका विद्यार्थी तथा शैक्षिक संस्थालाई सहयोग गर्नु कम्पनीको सामाजिक दायित्वसमेत भएकाले विद्याश्रमलाई खाद्यान्न , तेल उपलब्ध गराइएको जानकारी दिनुभयो।
विद्याश्रमले खाद्य सामग्री सहयोग गरेकोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडप्रति आभार व्यक्त गरेको छ। कम्पनीको सहयोगले विद्यार्थीको दैनिक खाद्य व्यवस्थापनमा प्रत्यक्ष राहत पुग्ने विद्याश्रमले जनाएको छ।








