
यामराज बिष्ट
दैलेख । जिल्लाको गुराँस गाउँपालिका–८ का स्थानीयवासीका घर-घरमा खानेपानीको धारा निर्माण भएपछि खुसी भएका छन्। लामो समयसम्म पधेरो तथा सामुदायिक धारामा निर्भर हुँदै आएका स्थानीयका घरमै खानेपानी पुगेपछि दैनिक जीवन सहज भएको हो।
पछिल्लो समयमा घरमै धारा पुगेपछि दैनिक रूपमा पानी बोक्नुपर्ने समस्या हटेको गुराँस गाँउपालिका -८का स्थानीय टोपबहादुर बुढाले बताउनुभयो। उहाँले घरघरमा खानेपानीको धारा पुगेपछि लामो समयदेखि गाग्री बोकेर मुहानमा धाउनुपर्नेे बाध्यता अन्त्य भएको बताउनुभयो।उहाँले विगतमा बिहानैदेखि पानीका लागि पधेरो पुग्नुपर्ने बाध्यता भएपनि आजभोली घरमै खानेपानि पुगेपछि सहज भएको बताउनुभयो।“पहिला पानी लिन जाँदा धेर करिब एक समय खर्च हुन्थ्यो। घरमै धारा आएपछि निकै सहज भएको छ,” बुढाले भन्नुभयो।
यस्तै अर्का स्थानीय थामबहादुर खत्रीले घरमै खानेपानी पुगेपछि महिला तथा बालबालिकालाई विशेष राहत भएको बताउनुभयो। उहाँले पानीका लागि करिब २घण्टा लगाएर पानी ल्याउनुपर्ने बाध्यता हट्दा घरायसी काममा समय दिन सहज भएको बताउनुभयो।“घरमै पानी आएपछि सबैभन्दा ठूलो राहत भएको छ। पहिले पानीकै लागि धेरै समय खर्च हुन्थ्यो,,खत्रीले भन्नुभयो ।
गुराँस गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८०र८१ देखि खानेपानीका क्षेत्रमा कर्णाली प्रदेश सरकारसँग समेत सहकार्य हुँदै आएको छ। चालु आर्थिक वर्षभित्र गाउँपालिकाका विभिन्न क्षेत्रमा खानेपानीका धारा निर्माण भएपछि घरधुरीमा खानेपानी पहुँच पुग्ने संख्या ४७७ पुग्ने बताइएको छ।सबैको घरमा खानेपानिको पहुच पुगेपछि स्थानीयलाई खानेपानीका लागि पधेरो धाउनुपर्ने बाध्यता अत्य भएको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दिपेन्द्र वलीले बताउनुभयो । उहाँले बिगतमा सामुदायिक धारा भए पनि ६र७ घरले एउटै धाराबाट पानी भर्नुपर्ने भएकाले पालो कुर्ने क्रममा विवाद र झगडा हुने गरेको बताउनुभयो। “केहि समयपहिला पानी लिन पधेरोमै जानुपर्ने अवस्था थियो। धारा भए पनि ६र७ घरले एउटै धारामा पानी भर्नुपर्दा पालोको विषयमा विवाद र झगडा हुन्थ्यो,” वडाध्यक्ष वलीले भन्नुभयो, “घरघरमै धारा पुगेपछि अहिले स्थानीयको समय बचत हुनुका साथै खानेपानीको समस्या पनि कम भएको छ।”
गुराँस गाउँपालिका–८ स्थित ठाँटी–काफलमेला खानेपानी तथा सरसफाइ योजनाको पछिल्लो प्रगति अनुगमन गरिएको छ। गाउँपालिकाले घरघरमा खानेपानीको धारा पु¥याउने लक्ष्यअनुसार निर्माणलाई प्राथमिकता दिएको जनाएको छ।गुराँस गाउँपालिका सरकार, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास रएभरेस्ट क्लब र उपभोक्ताको सहकार्यमा सञ्चालित योजनाअन्तर्गत हालसम्म ४१ घरमा खानेपानीका धारा निर्माण भएका छन्। थप १६ घरमा धारा निर्माण गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ। यस योजनाबाट मात्रै ५७ घरधुरी लाभान्वित हुनेछन्।
गाउँपालिकाले ठाँटी–काफलमेला योजनासँगै तल्लो खनारा खानेपानी, बाँसठाना–छोटेपोखरा र बाँसठाना–सीम–टाङ्कोट खानेपानी योजनालाई समेत प्राथमिकतामा राखेको जनाएको छ। उक्त योजना मार्फत थप घरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने तयारी भइरहेको गाउँपालिकाको जनाएको छ ।घरघरमा धारा पुगेपछि स्थानीयको जीवनस्तरमा सुधार ल्याउनुका साथै स्वच्छ खानेपानीको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।








