पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । शनिबार राति बसको ठक्करबाट पैदल यात्रु रुपन्देही देबदह नगरपालिका–८ बस्ने ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।
जनकपुरबाट काठमाडौँ तर्फ जादै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट घाइते बोहराको अचेत अवस्थामा उद्धार गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेको प्रवक्ता बोगटीले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार







