
दैलेख कात्तिक २५गते । नेकपा एमाले दैलेखले आज जिल्लाका ११पालिकामा जनप्रदर्शन गरेको छ । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार दैलेखका ११पालिकामा जनप्रदर्शनका कार्यक्रम आयोजना गरेको हो ।
प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार दैलेख जिल्लामा पनि जनप्रदर्शन गरिएको नेकपा एमाले कर्णाली प्रदेशका उप- सचिब रविन्द्रराज शर्माले बताउनुभयो । उहाँले जनप्रदर्शनका कार्यक्रममा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको बताउनुभयो ।

उहाँले एमालेको शक्ति प्रदर्शन मार्फत प्रदर्शन भव्य बनाउन जिल्लाभरिका ११पालिकामा सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी भई जनप्रदर्शनको कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पारिएको समेत बताउनुभयो ।
यस्तै प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै दैलेखको ठाटिकाँधमा मङ्गलवार सम्पन्न सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य विनोदकुमार शाहले आन्दोलनबाट बनेको सरकारले संसद् विगठन गर्न पाउने अधिकार नरहेको बताउँदै प्रतिनिधि सभाको पुनर्स्थापना पछि मात्र जेनजी पुस्ताले अघि सारेका मागहरू पुरा गर्न सकिने बताउनुभयो । उहाँले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउँदै शाहले शान्त वातावरणमा चुनाव भएको खण्डमा जनताले एमालेलाई बहुमत दिलाउने बताउनुभयो । उहाँले वर्तनमान सरकार संविधान र जनताको चाहना विपरीत निर्माण भएको जनाउँदै समृद्ध नेपाल निर्माणमा एमाले कटिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाभरीका ११पालिमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूको सहभागीता रहेको थियो ।








