२०८२ मंसिर ४ , बिहीबार

पोल गाडेको तीन वर्षमा पनि पुगेन विद्युत



यामराज बिष्ट
दैलेख कात्तिक २६ गते । जिल्लाको महावु गाउँपालिका वडा नं– ६ रानीवनका स्थानीय अझै पनि विद्युतको पहँच बाहिर रहेका छन् । करिब तीन वर्षअघि नै पोल गाडे पनि हालसम्म विद्युत लाइन विस्तार नहुँदा स्थानीयले अझै पनि विद्युत उपयोग गर्न पाएका छैनन् । बर्षौ अगाडी वडामा विद्युतको पोल पुगे पनि बिजुली बिस्तार नहुँदा स्थानीय अन्धकारमै रुमलिन बाध्य छन्। रानिवन लगायका अन्य गाउँमा झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर बसेको गाउँलेहरू पछिल्लो समयमा विद्युत सेवा उपयोग गर्न नपाँउदा अभाव झेल्न बाध्य छन् ।

नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरेपनि सक्रियता नदेखाएको कारण नागरिकलाई समस्या भएको स्थानिय खेमबहादुर सिंहले बताउनुभयो । उहाँले विद्युत् विस्तारका लागि तिन बर्ष पहिले बत्तिको पोल र वाइरिङ्ग गरे पनि अहिले सम्म स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन परेको गुनासो गर्नुभयो । उहाँले बिजुली आउने आशामा पोल हेरेरै चित्त बुझाउनु परेको बताउनुभयो । उहाँले गाउँमा सिंहदरबार आएको भनिए पनि घर नजिकको सरकारले जनताले समस्या पुरा नर्गदा स्थानिय सरकार प्रति जनताको बिश्वास घट्दै गएको बताउनुभयो ।
यस्तै महाबु गाउँपालिका –६का वडाध्यक्ष रेशमबहादुर थापामगरले तीन वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको बताउनुभयो । उहाँले विद्युत् विस्तारका लागि वडासरकारले अब चाँडै पहल गर्ने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख इन्जिनियर नरेश रावलले त्यस क्षेत्रमा ठेक्का लिएको कम्पनीलाई काम गर्न ताकेता गरेपनि सम्बन्धित व्यक्तिले काम नगरेको बताउनुभयो । उहाँले काम गर्ने अधिकार सामुदायिक ग्रामीण विद्युतीकरण जिम्मा भएकाले काम गर्न ढिलाई भएको बताउनुभयो । उहाँले विद्युत विस्तारको पहल गर्न आफुल लागी परेको बताउनुभयो । विद्युत लाइन विस्तार नहुँदा रानिवन , एकपाटे, लामिडाँडा, गुरजेनी , उत्तिसेनी , टाकुरी , बाहुन थरका करिब ७सय घरधरीका विद्युतको पहँच बाहिर रहेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार
प्रतिक्रिया