२०८३ जेठ १९ , मंगलबार

एक करोडको स्याउ बिक्री



हुम्ला, कात्तिक २८ गते । हुम्लाबाट यस वर्ष एक करोडभन्दा बढीको स्याउ बिक्री भएको छ । यस वर्ष सिमकोट गाउँपालिका– ५ की नीता बोहराले ५० कार्टुन स्याउ बिक्री गरेको बताउनुभयो । दस बोट स्याउबाट उहाँले छ सय ५० केजी स्याउ बिक्री गर्नुभएको हो । गत वर्षभन्दा यस वर्ष कम फलेको भए पनि मूल्य भने प्रतिकेजी ५० रुपियाँमा स्याउ बिक्री भएको उहाँले बताउनुभयो ।

यसैगरी, चंखेली गाउँपालिका–३ हंस बुढाले आफ्नो र छिमेकीको ७५ क्विन्टल स्याउ खरिद गरेर बिक्री गरेको बताउनुभयो । उहाँले प्रतिकेजी ५० रुपियँमा बिक्री गरेर तीन लाख ७५ हजार रुपियाँ कमाइ भएको बताउनुभयो । यो वर्ष जिल्लाभरि दुई सय सात दशमलव ५० मेट्रिकटन स्याउ बिक्री भएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताउनुभयो ।

हुम्लामा यो वर्ष ५० रुपियाँ केजीमा स्याउ बिक्री भएको हो । कुल स्याउ बिक्रीबाट किसानले एक करोड तीन लाख ७५ हजार रुपियाँ आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार
प्रतिक्रिया