२०८२ मंसिर ४ , बिहीबार

धमाधम सडक कालोपत्रे



दैलेखको डुंगेश्वर गाउँपालिकाको मुकामसम्म पुग्ने सडक अब छिट्टै कालोपत्रे हुँदैछ । कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुंगेश्वरदेखि डाँडाँपराजुलसम्मको सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले आइतबार यो सडक खण्डको स्थल अनुगमन गरेका छन् । विश्व बैंकको ऋण सहयोग, संघ सरकारको समन्वय, स्थानीय तहको सहयोग र प्रदेश सरकारको कार्यान्वयनमा निर्माण हुँदै गरेको यो आयोजना पूर्वाधार विकास कार्यालयमार्फत संचालन भइरहेको हो । कार्यक्रमका प्रतिनिधि यगेन्द्र धरालका अनुसार सडक कालोपत्रेको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको छ ।

करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँको लागत अनुमान गरी गरिएको टेन्डरमा श्री अमर–खड्काकृष्ण–वासना जेभीले २४ करोडभन्दा बढीमा सम्झौता गरेको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले उक्त सडकको शिलान्यास गर्दै प्रदेश सरकारले सङ्घीय र स्थानीय तहसँग पनि समन्वय गरी कर्णालीका सबै पालिका मुकाममा जोड्ने सडकहरू क्रमशः कालोपत्रे गदै जाने बताउनुभयो । जसका लागि पहिलो चरण कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णालीका विभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरू कालोपत्रे गर्ने तयारी गरिएको बताउनुभयो ।

साइड इन्चार्ज हिक्मतबहादुर बमका अनुसार अहिलेसम्म करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार
प्रतिक्रिया