
दैलेख – नारायण नगरपालिका दैलेखका कर्मचारीले कार्यालय प्रवेश गर्नु अगाडि अनिवार्य राष्ट्रिय गीत गाउनुपर्ने नियम बनाएका छन्। कर्मचारीहरुले बिहान १० बज्नुभन्दा केही समय अघि नै आएर सामूहिक रुपमा राष्ट्रिय गान गाएर मात्र आफ्नो फाटमा जानुपर्ने नियम लागू गरिएको नारायण नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत बमबहादुर केसिले बताउनुभयो । उहाँले कर्मचारीहरुलाई ठीक समयमा कार्यालय आउने, कार्यालय पोशाकमा आउन प्रोत्साहन गर्न र कार्यालयको नियमित कामसँगै नागरिकहरुको सेवा प्रवाहमा प्रति पूर्ण रुपमा जिम्मेवार बनाउन राष्ट्रिय गान गाउनुपर्ने नियम लागू गरिएको बताउनुभयो ।
नगरपालिकाले यो कार्य नगरपालिकामा मङ्सिर १ गतेबाट गरिदै आएको छ । सरकारी कर्मचारी समयको पालना गर्दैनन्, काममा ढिलासुस्ती हुन्छ भन्ने गरेको आरोपहरु आईरहेका बेला त्यसप्रति सजग हुँदै समयको पालना तथा सेवा प्रवाहलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन यसले सहयोग पुग्ने विश्वास पुग्ने नगरपालिकाले जनाएको छ ।

यस्तै दैलेखको दुल्लु नगरपालिकाले पनि एक बर्ष अगाडी नै अनिवार्य रूपमा कर्मचारीहरुले राष्ट्रिय गान गाउनुपर्ने निर्णय गरेको छ । बिहान ९ः ४५ बजेको समयमा कर्मचारीहरू उपस्थित भई संयुक्त रुपमा राष्ट्रिय गान गाउनुपर्ने कर्मचारीका सुझाव गुनासाहरू कार्यालय प्रमुखले सुन्नुपर्ने, सँगै कार्यालय प्रमुखले सोही दिन गर्ने कामको निर्देशन गर्ने नियम लगाइएको बताइएको छ ।
राष्ट्रिय गान गाउनुपर्ने निर्णयले राष्ट्रसेवकको राष्ट्र प्रेम पनि झल्किन र कामको एकरुपताको लागि बिहान अनिवार्य राष्ट्रिय गान गाउने नियम लगाइएको नगरपालिका नगरपालिकाले जानकारी दिएको छ।








