२०८३ जेठ १९ , मंगलबार

नारायण सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता नगर घोषणा



 

दैलेख – दैलेखको नारायण नगरपालिका सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सबै योग्य लाभग्राहीको पहुँच सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।नारायण नगरपालिका नेपाल सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरणमा पूर्ण पहुँच सुनिश्चितता नगरपालिका घोषणा भएको हो। नारायण नगरपालिका सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता घोषित पहिलो पालिका हो । नारायण नगरपालिकाले एक वर्ष अघि कार्यपालिकाबाट ‘सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति २०८१’ तथा ‘सामाजिक सुरक्षा सुरक्षा वितरणमा सबैको पहुँच सुनिश्चितता गर्न बनेको आधारभूती कार्यविधि २०८१’ पारित गरी आधार तयार पारेको थियो ।

नीति र कार्यविधि अनुसार नारायण नगरपालिकाका ११ वटै वडा कार्यालयहरुले योग्य लाभग्राहीको खोजपड्ताल, सुविधा उपलब्ध गराउन आवश्यक पर्ने कागजी प्रक्रिया सहजीकरणदेखि सामाजिक सुरक्षा भत्ताको लागि प्रमाणिकरण समेत गर्ने गरी आधार तयार गरिएको थियो । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले  एक समारोहबीच सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चित नगरपालिका घोषणा गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकहरुको आत्मसम्मान र पारिवारिक माया बढेको बताउदै सामाजिक सुरक्षा भत्तामा वितरण गरिएको रकम सदुपयोग भए नभएको अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले पहाडी क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा गुणस्तर सुधार नभएको कारण बसाईसराई बढेकोले लाभग्राही नवीकरणको काम खर्चिलो भएको प्रष्ट्याउनुभयो । मन्त्री भण्डारीले जनप्रतिनिधि र कर्मचारीहरुले सेवा प्रवाहमा जिम्मेवार हुन आग्रह गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सामाजिक सुरक्षा भत्ता अनियमितता बढ्न थालेपछि सरकारले बैंकिग प्रणालीबाट भुक्तानी गर्न थालिएपछि दुरुपयोग रोकिएको बताउनुयो । उहाँले ग्रामीण बस्तीका लाभग्राहीहरुले यसबाट ठूलो लाभ र राहत महसुश गरेका सुनाउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष बीरबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले सामाजिक सुरक्षा भत्ता सुनिश्चितता निरन्तरताको कामना गर्नुभयो ।

नारायण नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाहीले सामाजिक सुरक्षा भत्ता पहुँच सुनिश्चितता घोषणा महत्व र यसको निरन्तर लगावका विषयमा प्रकाश पानुभएको थियो । सेभ द चिल्ड्रेनको साझेदारीमा एभरेष्ट क्लव दैलेखद्वारा सञ्चालित पहुँच परियोजना पृष्ठपोषणमा नारायण नगरपालिकाले आफ्नो श्रोत र सक्रियतामा हुँच सुनिश्चितता घोषणा गरेको हो ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार
प्रतिक्रिया