२०८३ जेठ १९ , मंगलबार

तीन पालिका निमित्तका भरमा



जाजरकोट । जाजरकोट जिल्ला समन्वय समितिसहित तीन वटा स्थानीय तह निमित्तका भरमा सञ्चालनमा रहेका छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिकासहित जिल्ला समन्वय समिति निमित्तका भरमा सञ्चालनमा रहेका हुन् । यी कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तले काम गरिरहेका छन् ।

हाजिर भएको एक महिनामै रोमबहादुर महत सरुवा भएपछि खाली भएको भेरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजस्व शाखामा कार्यरत सातौँ तहका प्रकाश बटालालाई निमित्तको जिम्मेवारी तोकिएको छ । सरकारले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृत, नगरपालिकामा उपसचिवको दरबन्दीको व्यवस्था गरेको छ ।

जाजरकोट सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी पाएका छन् । हचुवाका भरमा नियमविपरीत काम गरेका कारण स्थानीय तहले निकास पाउन सकेका छैनन् ।

भेरी नगरपालिका–४ का रणबहादुर कार्कीले सरकारले जिम्मेवारी तोकेर खटाएका प्रमुखलाई जनप्रतिनिधिले दबाब दिन थालेपछि एक महिनामै सरुवा गराएर भाग्ने गर्नुभएको छ । स्थानीय सरकारका जनप्रतिनिधिले नियमको उल्लङ्घन गरी काम गराउन खोज्दा हाजिर भएको एक

महिना नपुग्दै भाग्ने गरेको बताउनुभयो । उहाँका अनुसार सरकारको नियमविपरीत स्थानीय तहका जनप्रतिनिधिले दबाबमा राख्न थालेपछि समस्या भएको छ । छेडागाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका भेषराज खनाल हाजिर भएको २२ दिनपछि सरुवा भएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार
प्रतिक्रिया