
एमालेको ११ औँ महाधिवेशनमा कर्णालीको प्रतिनिधित्व गर्दै सचिव, केन्द्रीय सदस्य र आयोगका सदस्य गरी कुल २७ जना उम्मेदवार बनेका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा सुर्खेतकी पद्मा खड्का, दैलेखका रुद्रबहादुर शाही, दैलेखकै सुशील थापा, मुगुका जितबहादुर मल्ल, दैलेखकी पार्वती विशंखे, मुगुका दानसिंह परियार र कालीकोटका मिनबहादुर शाहीले केन्द्रीय उम्मेदवारी दर्ता गराएका छन् ।
खड्का र थापा पूर्वप्रदेशसभा सदस्यसमेत हुन् । शाही २०७९ मा दुल्लु नगरपालिका दैलेखको नगर प्रमुखमा पराजित भएका थिए । खड्का हाल एमाले कर्णाली प्रदेश कमिटीको उपसचिव छन् । उनले अखिल नेपाल महिला संघ तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन् ।
बहालवाला प्रदेशसभा सदस्यसमेत रहेका मुगुका मल्ल एमाले कर्णाली प्रदेश लेखा आयोगका अध्यक्ष हुन् । उनी २०७९ मा मुगुबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै, दैलेखकी विशंखे २०७४ मा एमालेबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । मगुका परियार २०७४ मा कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । यस्तै, केन्द्रीय सदस्यमा पहिलोपटक उम्मेदवार बनेका शाही २०८० असोजमा सम्पन्न एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा पराजित भएका थिए ।
ओली समूहमा कर्णालीबाट एक पदाधिकारीसहित २९ बढी केन्द्रीय सदस्यले उम्मेदवारी दिएका छन् । कर्णाली भूगोल खुलातर्फ सुर्खेतका नवराज रावत, जाजरकोटका डम्बर सिंह, दैलेखका विष्णु रिजाल, हुम्लाका दल फडेरा, मुगुका जितबहादुर मल्ल छन् ।
प्रदेश भूगोल युवातर्फ दैलेखका रुद्रबहादुर शाही, प्रदेश भूगोल महिलातर्फ सुर्खेतकी मोहनमाया ढकाल, दैलेखकी मिनासिंह रखाल, कालीकोटकी इन्दिरा सन्ज्याल उम्मेदवार छन् । यस्तै, दैलेखका लक्ष्मीप्रसाद पोखरेल, दैलेखकै राजबहादुर बुढाक्षेत्री, दैलेखका धर्मराज रेग्मी, हुम्लाका दल रावल, जाजरकोटका निरज आचार्य र हुम्लाकै गोरखबहादुर बोगटी र कालीकोटका मिनबहादुर शाही छन् ।







