२०८३ जेठ २० , बुधबार

लागुऔषधको दलदलमा फस्दै युवा



जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने यहाँका युवा लागुऔषधको दलदलमा फस्दै गएको देखिन्छ । १८ देखि ६० वर्ष उमेर समूहका लागुऔषध सेवन र तस्करीमा संलग्न देखिन्छन् तर लागुऔषध कहाँबाट भित्रिन्छ, कसले कारोबार गरिरहेका छन् भने कुराको पत्ता प्रहरीले लगाउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्याङ्क अनुसार तीन वर्षमा लागुऔषधका ४३ मुद्दा दर्ता भएका छन् । तिनमा ७१ जनालाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिँदै छ । २३ जना अझै फरार छन् । बर्सेनि लागुऔषध सेवनकर्ता र कारोबारी बढ्दै गए पनि नियन्त्रणका लागि प्रहरीसँग स्पष्ट योजना छैन । सबैभन्दा धेरै १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा बढी संलग्न रहेका प्रहरीले बताएको छ । १४/१५ वर्षका किशोरकिशोरी पनि लागुऔषध सेवन र कारोबारमा संलग्न रहेका प्रहरीको भनाइ छ ।

६० वर्षका मानिस पनि यस्तो कार्यमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रविनबाबु रेग्मीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा १६ वटा, आव २०८१/८२ मा २३ वटा र चालु आवमा हालसम्म चार वटा मुद्दा दर्ता भएर अनुसन्धान चलिरहेको छ ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार
प्रतिक्रिया