२०८३ जेठ २० , बुधबार

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद, पाँच लाख जरिवाना



दैलेख । दैलेख जिल्ला अदालतले बालिकालाई बलात्कार कसूरमा एक जनालाई जन्मकैद १० वर्ष को फैसला सुनाएको छ। १७ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई १० वर्ष कैद र पाँच लाख रुपैंयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट बुधबार उक्त सजाय भएको सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।उजुरी लगतै अदालतको अनुमती लिई सुरक्षित गर्भ पतन गराई मुद्दाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

२०८१ वैशाख १३ गते ललाईफकाई गरेको बलात्कारबाट गर्भ रहन गएको जनाउदै पीडित पक्षले २०८१ कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०८१ मंसिर ४ गते जबरजस्ती करण घटनाको अभियोग दर्ता गराएको थियो । त्यही दिन जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेकै इजलासबाट पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

पीडित युवतीले कसूरदारलाई गर्भ रहेको जानकारी गराउदा समेत बेवास्ता गरेपछि ६ महिनाको पेट बोकेर प्रहरीको सहायता मार्फत कानूनी प्रक्रिया थालिएपछि अदालतको अनुमती लिई सुरक्षित गर्भपतन गराइसकेर किशोरीले आफ्नो पढाइ निरन्तरता दिन सम्भव भएको थियो ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार
प्रतिक्रिया