२०८३ जेठ २० , बुधबार

नसर्ने रोगहरु न्यूनिकरणका लागी अन्तरक्रिया



यामराज बिष्ट
दैलेख, पुस १६गते । दैलेखमा सरोकारवालासँग नसर्ने रोग न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय सुर्खेतले दैलेख सदरमुकाममा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्धन गर्न सचेतना कार्यक्रम गरेको हो ।
नसर्ने रोगहरुको रोकथाम, प्रारम्भीक पहिचान र ब्यबस्थापनका लागि न्यूनीकरण गर्न सबै नागरिकको सक्रियता आवश्यक रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो। उहाँले नागरिक समाज, शिक्षक व्यवसायी,स्वास्थ्यकर्मी र सरकारवाले नसर्ने रोग नियन्त्रण गर्न सक्रियता आवश्यक रहेको बताउनुभयो ।
यस्तै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय सुर्खेत निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले सर्ने रोगको समस्या कम हुँदै गइरहेको र नसर्ने रोगको व्यापकता तथा जोखिम निरन्तर बढ्दै गइरहेको रहेको बताउनुभयो । उहाँले नसर्ने रोगहरू शरीरको आन्तरिक प्रक्रियामा गडबडी वा असन्तुलन हुँदा व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, खानपिन जस्ता विभिन्न कारणले देखा पर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा नारायण नगरपालिका सामाजिक विकास शाखाका प्रमुख खमबहादुर थापाले खानपान, शारीरिक व्यायामजस्ता व्यवहामा परिवर्तन ल्याउन सके नसर्ने रोगको महामारीलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।उहाँले उमेर वृद्धि, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदुषणका कारणले गर्दा मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै गएको बताउनुभयो ।
यस्तै उद्योग वाणिज्य संघका दैलेखका उपाध्यक्ष धुर्वबिक्रम थापाले बजारमा देखिएको समस्याहरुबारे अन्तरक्रिया गर्दा उपभोक्ता र व्यापारी दुवै पक्षलाई सुरक्षित बनाउने बताउनुभयो । उहाँले जिल्लाका होटल ब्यवसायले सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जिल्लामा  यस्ता खाले कार्यक्रम गर्दा  समन्वयको गर्नुपर्ने बताउनुभयाे।
त्रिभुवन माविका शिक्षक लिलाराम सिजापतिले स्वास्थ्य तथा सुरक्षासंग प्रत्यक्ष सम्वन्ध राख्ने खाद्य पदार्थको गुणस्तर कायम राख्न समुदायस्तरमै सचेतना फैलाउनु अत्यावश्यक रहेको बताउनुभयो ।
नारायण नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रतिमा भट्टराईले नगरपालिकाले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि काम गरिरहेको बताउनुभयो। उहाँले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार
प्रतिक्रिया