काठमाण्डौ । आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित एक कार्यक्रममा ट्रफी सार्वजनिक गर्नुभयो ।
शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्नुभयो ।
‘ट्रफी टुर’ कार्यक्रम अन्तर्गत आज बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म पोखरामा विश्वकप ट्रफीको फोटोशूट, दिउँसो ४ बजेदेखि बेलुकी ६ बजेसम्म वसन्तपुर क्षेत्रमा ट्रफी प्रदर्शनी तथा पर्सि दिउँसो २ बजेदेखि ३ बजेसम्म बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।
टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आइपुगेको हो । नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो ।
टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।








