जाजरकोट । जाजरकोटका सात स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह निमित्तका भरमा चलेका छन् । तीन नगरपालिका र दुई गाउँपालिका निमित्तका भरमा सञ्चालन भइरहेका हुन् ।
नगरपालिकामा उपसचिव, गाउँपालिकामा प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो स्वार्थ पूर्ति गर्न निमित्तबाट सहज हुने भएपछि निमित्तकै भरमा चलाउने गरेका छन् । सदरमुकामस्थित भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिकाका साथै जुनीचाँदे गाउँपालिका र कुसे गाउँपालिका निमित्तका भरमा चलेका छन् । दिगो विकास, सुशासन, आर्थिक समृद्धि गर्न स्थापना भएका स्थानीय सरकार पुरानै शैलीमा सरकार चलाउन थालेपछि जनता निराश भएका छन् ।
सात स्थानीय तहमध्ये तीन वटा नगरपालिका भएको जाजरकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी पाएका छन् । सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि स्थानीय सरकारका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षले काम गर्ने वातावरण नबनाएपछि हाजिर भएको एक महिना नपुगी सरुवा हुने गरेका छन् ।








