
क्याप्सन ः महाबु गाउँपालिका, र महावै गाउँपालिकाको सिमानामा पर्ने महाबु धाम ।
दैलेख असोज ५गते । महाबु गाउँपालिका, नौमूले गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने निकै प्रसिद्ध तीर्थस्थल मानिएको महाबुधाम धार्मिक आस्था र पर्यटनको गन्तव्य बन्दै गएको छ । भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि महाबु धाम धार्मिक आस्था र पर्यटनको गन्तव्य बन्दै गएको हो ।
यहाँ पुग्ने धार्मिक भक्तजनले स्वर्गीय आनन्द प्राप्त भएको महसुस गर्न सक्छन् । धार्मिक मान्यताअनुसार एक हजार वर्ष पहिले दैलेख भूर्तीका बोल्न नसक्ने आचार्य ब्राहमणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दूध चढाए पछि ढुङ्गा फुटेर शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ ।
धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन, यहाँ मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरूको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । महाबु धाम आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रूपमा रहेको यो ठाँउमा मागेको कुरा पुग्ने जनविश्वास पनि गरिन्छ ।
सुर्खेत, दैलेख, जाजरकोट, काठमाण्डौ ,कालीकोट, जुम्ला र हुम्ला लगायतका ठाँउबाट हजारौं भक्तजन तथा श्रद्धालुहरूले बर्सेनि पूजाका लागि महाबु धाम पुग्ने गरेको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो । उहाँले छिनभरमै मौसम परिवर्तन भइरहने महाबुधाममा पुग्ने जो कोही पनि आनन्दको अनुभूति गर्ने बताँउनुभयो । यसको ईतिहास लामो भएकोले महाबुधाममा पुगेर शिवजीको दर्शनपछि मनोकामना पूरा हुने गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।
समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइको धाम महाबु र कालीकोट महाबुै गाउँपालिकाको सिमानामा पर्छ । सिधै ठाडो उकालो भएकाले केही असज भए पनि महाबु धाममा पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति भएको श्रद्धालु भक्तजनले भनाई छ । जनैपूर्णिमाको अघिल्लो दिन भगवान् शिवको पूजाआजा गरी श्रद्धालुहरू घर फर्किने गर्छन् । हिन्दूहरूको महान् पर्व जनैपूर्णिमाका अवसरमा लाग्ने महाबुधाम (गाथ) मेला दुई दिन देखि तीन दिनसम्म सञ्चालन हुने गर्दछ । राज्यले ध्यान दिन नक्सदा जोखिमपूर्ण बाटो हुँदै महाबु धाम पुग्ने गरेको भक्तजन सुनिता शाहीको गुनासो छ । उहाँले सरकारले सडकलाई ब्यवस्थीत गरेर महाबु धामलाई संसार भरि चिनाउन प्रचारपसारमा जोडदिनुपर्ने बताउनुभयो ।








