२०८३ जेठ २० , बुधबार

भैरबी गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सम्पन्न



 

दैलेख । कोदैलेखको भैरबी गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । गाउँसभा अधिवेशन तथा हिउँदे गाउँसभा एक औपचारिक कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको हो।

गाउँसभाको उद्घाटन  गाउँपालिका उपाध्यक्ष देबी भण्डारीले अधिवेशनलाई सम्बोधन गर्दै स्थानीय सरकारको विकास र सेवा प्रवाहमा करदाताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले कर तिर्नु नागरिकको दायित्व मात्र नभई समग्र गाउँपालिकाको विकासमा प्रत्यक्ष योगदान हुने बताउँदै पारदर्शी र उत्तरदायी ढंगले संकलित राजस्वलाई जनताको हितमा सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाले जानकारी दिएअनुसार १८औँ अधिवेशनले विनियोजन विधेयक, आर्थिक कार्यविधि विधेयक लगायत विभिन्न योजना तथा कार्यक्रमहरू संशोधन गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो। विगतका केही समयदेखि देखिँदै आएको आन्तरिक विवादका कारण गाउँकार्यपालिका बैठक तथा गाउँसभा प्रभावित हुँदै आएकोमा यसपटक भने कुनै विवादबिना अधिवेशन सम्पन्न हुनु सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।

हिउँदे गाउँसभाको अवसरमा गाउँपालिका कार्यपालिका अन्तर्गत गठन गरिएका विभिन्न समिति तथा उपसमितिहरूले चालु आर्थिक वर्ष २०८२र०८३ को पछिल्लो ६ महिनाको प्रगति प्रतिवेदन गाउँसभा समक्ष प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि गाउँसभाका सदस्यहरूले उठाएका प्रश्न, जिज्ञासा तथा सुझावहरूको सहजीकरण गाउँसभा अधिवेशनका सभाध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष देबी भण्डारीले गर्नुभएको थियो। छलफलपछि सभाबाट सबै प्रगति प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले विगत ६ महिनामा गाउँकार्यपालिकाबाट सम्पादन भएका गतिविधि, विकास निर्माणका काम, सेवा प्रवाहको अवस्था तथा समग्र उपलब्धि समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले अधिवेशनले अघिल्लो १७औँ गाउँसभाबाट विनियोजन गरिएको बजेट तथा योजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै आवश्यक संशोधनसहित महत्वपूर्ण विधेयकहरू पारित गरेको बताउनुभयो।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार
प्रतिक्रिया