२०८३ जेठ २० , बुधबार

म्यादी प्रहरीमा भर्ना हुन युवाको आर्कषण



यामराज बिष्ट
दैलेख। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि म्यादी प्रहरीमा भर्ना हुन दैलेख जिल्लामा युवायुवतीको आकर्षण बढेको छ । । जिल्लामा आवेदन दिने समय बिहान १० बजेदेखि सुरु भनिए पनि बिहान ८ बजेदेखि नै आवेदन दिने युवायुवतीमा आकर्षण बढेको हो ।

भगवतीमाई गाँउपालिका–६देखि दैलेख सदरमुकाम म्यादी प्रहरीमा आवेदन दिन आउनुभएको प्रतिभा केसिले बेरोजगार भएपछि म्यादी प्रहरी हुन आएको बताउनुभयो । उहाँले मेरो यो रहर होइन बाध्यताले आएको बताउनुभयो । उहाँले म्यादी प्रहरीबाट पाएको पैसाले केही दिन भएपनि घर खर्च चलाउन सजिलो होला भनेर आवेदन दिन आएको बताउनुभयो ।

 

यस्तै महाबु गाँउपालिका –६लामिडाँडाका सोभाखर पौडेल रोजगार पाईन्छ भनेर आएको बताउनुभयो । उहाँले पछिल्लो समयमा जिल्लामा म्यादी प्रहरी हुन युवाहरूको आकर्षण देखिएको बताउनुभयो । उहाँले सरकारले समयमा रोजगारी सिर्जना नगर्दा दिनप्रति दिन बेरोजगारी समस्या बढ्दै गएकाले म्यादी प्रहरीमा बेरोजगार युवाको आकर्षण बढेको बताउनुभयो ।

महाबु गाँउपालिका –२का कृष्ण विकले देशमा रोजगारी नभएपछि युवाहरुमा म्यादी प्रहरीमा भर्ना हुन युवा तँछाडमछाड गरिरहेको बताउनुभयो । बेरोजगार भएकाले र अनुभवका लागि म्यादी प्रहरीमा आवेदन दिन लागेको भगवतीमाई गाउँपालिका–७ की टिका विकले बताउनुभयो ।

दैलेखमा एक हजार ५ सय ५७ जना निर्वाचन प्रहरी म्यादीको भर्ना आह्वान गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।उहाँले पुस २५ देखि थालिएको र माघ १ गतेसम्म दरखास्त लिइने प्रहरी म्यादीको लागी अहिले सम्म करिब ८सय जनाले आवेदन दिएको बताउनुभयो ।उहाँले भुतपूर्व सैनिक प्रहरीलगायतले आवेदन दिन आइरहेको बताउनुभयो । प्रहरी म्यादीको लागी जिल्ला सदरमुकाममा जिल्ला प्रहरी कार्यालय, नौमूले इलाका प्रहरी कार्यालय, दुल्लू इलाका प्रहरी कार्यालय र राकम इलाका प्रहरी कार्यालय समेत गरी ४ स्थानमा आवेदन दिन पाउने व्यवस्था मिलाइएको प्रहरी प्रमुख बरालले बताउनुभयो । उमेर हद आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार
प्रतिक्रिया