२०८३ जेठ २० , बुधबार

प्रहरीको नौलो अभियान, अपराधबाट पीडित बनेकासँग प्रत्यक्ष भेटघाट



 

दैलेख । दैलेख प्रहरीले अपराधिक घटनाबाट पीडित बनेकाहरुलाई लक्षित गरेर नौलो अभियान सञ्चालन गरेको छ । फौजदारी मुद्दा चलेका मध्ये कोही फैसला भएर कसूरदारलाई सजाय भएका, कोही अदालती तहकीकात चलिरहेका र कोही घटनामा कसूरदार भागेको कारण मुद्दा मुल्तवीमा बसेका घटनाहरुमा प्रहरीले न्यायिक प्रक्रियामा गरेको कामप्रति पीडितहरुको धारणा बुझ्न अपराधबाट पीडित बनेकासँग प्रत्यक्ष भेटघाट गरेको हो ।

बलात्कार घटनाबाट जन्मेका सन्तानहरुको जन्मदर्तामा समस्या भएको, बहुविवाहको मुद्दामा सजाय पाएकाहरु पहिलो श्रीमति र बालबच्चाहरु बेवास्ता गरी कान्छीसंग बसेका, कतिपय घटनामा घरमा कमाईकाज गर्ने मुख्य मान्छे हत्या भएका घटनामा आश्रित परिवारहरुलाई लालनपालन, शिक्षादीक्षा र सुरक्षाको चुनौती बढेको पीडितहरुले सुनाए ।

पीडितहरुका कुरा सुनेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले आफ्नो कार्यालयबाट सुधार गरेर हुनसक्ने काममा आफूहरुले तुरुन्त सुधार गर्ने र अरु क्षेत्रबाट गर्न सकिने कामका लागि पनि सहजीकरण गर्ने बचन दिनुभयो । उहाँले पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्न पीडितसंग प्रहरी भेटघाट सुरु गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार
प्रतिक्रिया