२०८३ जेठ २० , बुधबार

हातहतियार बुझाउन प्रशासनको आग्रह



यामराज बिष्ट
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न यही माघ२० गते सम्म हातहतियार बुझाउन कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त आग्रह गरेको हो ।
तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुनबमोजिम हुने दैलेख प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो । उहाँले इजाजत पाएर र इजाजतबिना अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने बताउनुभयो । दैलेख जिल्लामा निर्वाचन हुने विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन लगाइएको उहाँले बताउनुभयो । इजाजतपत्र लिएका हातहतियार तथा खरखजना तोकिएको समयावधिभित्र बुझाइएमा निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रजिअ सारुले बताउनुभयो ।
यसैबिच अघिल्लो निर्वाचनको तुलनामा दैलेख जिल्लामा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको संख्या बढेको छ। २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा दैलेखबाट आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामवली सङ्कलनपछि २ हजार २ सय ४६ जना नयाँ मतदाता बढेका हुन् ।
दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले आगमी निर्वाचनको लागी अन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश भएको बताउनुभयो । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखमा १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी सलामीले बताउनुभयो ।
दैलेख जिल्लामा २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको सङ्ख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या २ हजार २ सय ४६ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या १ हजार ५ सय ७९ र महिला मतदाताको सङ्ख्या ६ सय ६७ ले वृद्धि भएको हो ।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार
प्रतिक्रिया