यामराज बिष्ट
दैलेख । दैलेखमा आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभाको निर्वाचनलाई भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा चुनाव सम्पन्न गराउन प्रतिबद्धता जनाएका छन् । दैलेख सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लाका राजनितिक दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र आचारसंहिता पालना गरी निर्वाचनलाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्न कसैलाई छुट नभएको भन्दै पूर्ण पालना गर्नेपर्ने नेकपा एमालेका अध्यक्ष शूर्यबहादुर शाहीले बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताप्रति आफ्नो पार्टी सचेत र प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका कोषाध्यक्ष शन्देश कुमार श्रेष्ठले सबै दलहरूले निर्वाचन आचारसंहिता पालना र शान्तिपूर्ण निर्वाचनका लागि प्रतिबद्ध रहनुपर्ने बताउनुभयो । उहाँले निवार्चन भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखका प्रतिनिधि प्रकाश कुमार बुढाले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाउनुभयो ।
राजनितिक दलले जिल्लामा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले गर्नुभयो । न्यायाधीश पाण्डेले भन्नुभयो,‘‘निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण ,पारदर्शी, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनितिक दलको सहयोगको आवश्यक हुन्छ ।’’
कार्यक्रममा नेपाली काग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायत दलका प्रमुख तथा प्रतिनिधिहरूले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार







