२०८३ जेठ २० , बुधबार

देशभर उल्लासपूर्वक उम्मेदवारी:तीन हजार बढीको मनोनयन दर्ता



काठमाडौँ, माघ ७ गते । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक भएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गरेकामध्ये ६८ दलका दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारसहित कुल तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले प्रारम्भिक विवरण भएकाले सङ्ख्या केही थपघट हुन सक्नेसमेत जनाएको छ ।

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले सङ्ख्या केही घटबढ हुन सक्ने बताउनुभयो । भट्टराईले भन्नुभयो, “अहिले सार्वजनिक भएको प्रारम्भिक सूची हो । सम्बन्धित कार्यालयले थप रुजु गर्ने छन् । यसमा सामान्य परिवर्तन हुन सक्छ ।”

कुल उम्मेदवारमध्ये महिला ३९५ रहेका छन् । यस्तै पुरुष उम्मेदवार तीन हजार ८८ र अन्य एक जना रहेका छन् । यो पटक स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक हजार १८७ रहेको छ । स्वतन्त्र उम्मेदवारमा पनि पुरुष उम्मेदवार एक हजार २४ रहेका छन् । उमेर समूहगत रूपमा ३६ देखि ५० वर्ष समूहको वर्चस्व मनोनयनमा देखिएको छ । निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना रहेका छन् । यस्तै ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१० जना रहेकामा ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० जनाले मनोनयन दर्ता गरेका छन् । ६५ वर्षमाथिका २०१ जना रहेका छन् । आयोगका अनुसार सबैभन्दा कम उम्मेदवार मुस्ताङमा चार र मनाङमा पाँच जनाको परेको छ । रुपन्देहीका दुई निर्वाचन क्षेत्रमा ३५÷३५ जनाको मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार
प्रतिक्रिया