
दैलेख । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेखमा तीन स्वतन्त्रसहित २१जनाले मनोनयन दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख र निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा गरी २१ जनाले मनोनयन दर्ता गराएका छन् ।
दैलेख निर्वाचन क्षेत्र नं. १ मा नेकपा(एमाले) का रवीन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा,नेपाली कांग्रेसका बासना थापा, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर वली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी,केन्द्र) का रामलाल विश्वकर्मा, राप्रपा नेपालका रणबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नन्दकिशोर बस्नेत, आमजनता पार्टीबाट मेनका श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा नारायण नगरपालिका–१० का लोगबहादुर बोगटीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका कमलबहादुर बरैमगर, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कलम सिहं, राप्रपा नेपालबाट बबिताकुमारी शाही र स्वतन्त्र उम्मेदवार लालबहादुर कठायत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाहीले मनोनयन दर्ता गराउनुभएको छ । आमजनता पार्टीबाट तीर्थाकुमारी वंशीमगर (विक) र स्वतन्त्र उम्मेदवार हिमबहादुर शाहीले मनोनयन दर्ता गर्नुभएको छ ।







