
यामराज बिष्ट
दैलेख ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेखमा मतदान स्थल र सुरक्षाका लागि अनुगमन कार्य तीव्र बनाइएको छ । जिल्ला सुरक्षा समिति तथा निर्वाचन ब्यबस्थापन समितिले निर्वाचन क्षेत्र नं. १का १सय४मतदान केन्द्र सुरक्षाका लागि अनुगमन गरेको हो ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन अनुगमन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण,सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको उहाँले बताउनुभयो ।
दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । उहाँले आगमी निर्वाचनको लागी अन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश भएको बताउनुभयो ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेख जिल्लाभर १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी सलामीले बताउनुभयो ।
दैलेख जिल्लामा २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको संख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेख जिल्लामा १८जना राजनितिक दलका उम्मेदवार तीन स्वतन्त्रसहित २१जनाले मनोनयन चुनावी मैदानमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख र निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा गरी २१ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लामा निर्वाचन क्षेत्र नं.१ मा नेकपा(एमाले) का रवीन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा,नेपाली कांग्रेसका बासना थापा, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर वली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी,)का रामलाल विश्वकर्मा, राप्रपा नेपालका रणबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नन्दकिशोर बस्नेत, आमजनता पार्टीबाट मेनका श्रेष्ठ,स्वतन्त्र उम्मेदवारका रूपमा नारायण नगरपालिका–१० का लोगबहादुर बोगटी चुनावी मैदानमा हुनुहुन्छ ।
यस्तै निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल, नेपाली कांग्रेसका दिक्पालकुमार शाही, नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाहीे राष्ट्रिय जनमोर्चाका कमलबहादुर बरैमगर, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कलम सिहं, राप्रपा नेपालबाट बबिताकुमारी शाही,राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाही ,आमजनता पार्टीबाट तीर्थाकुमारी वंशीमगर (विक) र स्वतन्त्र उम्मेदवारहरु लालबहादुर कठायत र हिमबहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ ।







